स्मार्टफोनको बिक्री हुनै छाड्यो, बिक्रीमा इतिहासकै उच्च गिरावट

कोरोना भाइरसको महामारीका कारण स्मार्टफोन बजारमा देखिएको मन्दीले रेकर्ड कायम गरेको छ । विश्व बजारमा स्मार्टफोनको बिक्रीमा अहिले देखिएको गिरावट स्मार्टफोनको आविष्कार भएयताकै सबैभन्दा उच्च गिरावट हो ।

अनुसन्धान संस्था स्ट्राटेजी एनालिटिक्सका अनुसार गत फेब्रुअरी महिनामा विश्व बजारमा स्मार्टफोनको बिक्रिमा गत वर्षको सोही महिनाको तुलनामा ३८ प्रतिशतले गिरावट आएको छ ।

स्मार्टफोनको सबैभन्दा ठूलो बजारको रुपमा रहेको चीनमा फेब्रुअरी महिनामा डरलाग्दो गरी फैलिएको कोरोना भाइरसले स्मार्टफोनको व्यापार चौपट बनाएको हो ।

रिपोर्टमा भनिएको छ, ‘फेब्रुअरी महिनामा कतिपय एसियाली स्मार्टफोन कम्पनीहरुले नयाँ स्मार्टफोन उत्पादन नै गर्न सकेनन् भने भाइरसको डरका कारण उपभोक्ताहरु समेत स्मार्टफोन खरियद गर्नका लागि बजारसम्म जान सकेनन्/चाहेनन् ।’

सन् २०१९ को फेब्रुअरी महिनामा विश्वमा ९ करोड ९२ लाख गोटा स्मार्टफोन बिक्री भएकोमा यो वर्षको फेब्रुअरी महिनामा जम्मा ६ करोड १८ लाख गोटा स्मार्टफोन बिक्री भएका छन् ।

स्मार्टफोन उद्योगका लागि फेब्रुअरी महिना सबैभन्दा विशेष महत्वको रहँदै आएको थियो । हरेक वर्ष फेब्रुअरी महिनामै बार्सिलोनामा मोबाइल वर्ल्ड कंग्रेसको आयोजना हुने गरेको थियो, जहाँ स्मार्टफोन कम्पनीहरुले आफ्ना नयाँ मोडलका फोन सार्वजनिक गर्ने गर्दथे । तर यो पटक कोरोना भाइरसको त्रासका कारण मोबाइल वर्ल्ड कंग्रेस समेत हुन सकेन ।

सामसुङले फेब्रुअरी महिनामै आफ्नो फ्लागसिप एस २० स्मार्टफोन लञ्च गरेकोमा यसले सुरुवाती चरणमा बजारमा उल्लेख्य बिक्री कायम गर्न सकेको छैन । उता एप्पलले पनि विश्वव्यापी आइफोन आपूर्तिमा कमी आउने र यसअघि गरिएको कम्पनीको मुनाफाको प्रक्षेपण पूरा नहुने बताइसकेको छ ।

स्ट्राटेजी एनालिटिक्सका कार्यकारी निर्देशक निल मास्टन भन्छन्, ‘स्मार्टफोनको विश्व बजारमा सन् २०२० को फेब्रुअरी महिनामा इतिहासमा अहिलेसम्मकै ठूलो गिरावट देखिएको छ । यो समय यस्तो समय हो जुन स्मार्टफोन उद्योगले सम्झिन चाहनेछैन ।’

चालू मार्च महिनामा कोरोना भाइरस संक्रमण युरोप तथा अमेरिकामा समेत तीव्र गतिमा फैलिरहेको हुँदा तत्कालै स्मार्टफोनको व्यापारमा सुधार आउने सम्भावना नरहेको पनि रिपोर्टमा उल्लेख छ । कोरोना भाइरसका कारण लकडाउनमा पर्दा विश्वका करोडौँ स्मार्टफोन उपभोक्ताहरु नयाँ स्मार्टफोन किन्नका लागि बजारसम्म पुग्न सकेका छैनन् ।

यस्तो अवस्थामा बिक्रेताहरुले आगामी दिनमा स्मार्टफोनको बिक्री बढाउनका लागि उपभोक्तालाई लोभ्याउने खालका छुटका अफरहरु ल्याउन सक्ने पनि रिपोर्टमा उल्लेख गरिएको छ ।

आइफोन आपूर्तिमा समस्याका साथै प्रक्षेपित वित्तिय लक्ष्य प्राप्ति हुन नसक्ने चेतावनीका बाबजुत एप्पलले हालै आफ्ना दुई नयाँ प्रडक्ट सार्वजनिक गरेको छ । जसमा लेजर स्क्यानिङ प्रविधि सहितको नयाँ आइपोड प्रो र म्याकबुक एयर रहेका छन् ।

यद्यपि यसअघि आफ्ना नयाँ प्रडक्ट सार्वजनिक गर्दा तामझामपूर्ण कार्यक्रम गर्ने गरेको एप्पलले यसपटक चाहीँ केवल प्रेस विज्ञप्ति मार्फत आफ्ना नयाँ प्रडक्ट लञ्च गरेको हो ।

विज्ञहरुका अनुसार एप्पलले आफ्नो नयाँ प्रडक्ट केवल प्रेस वक्तव्यबाट लञ्च गरेको सायद यो पहिलो पटक हो ।

Loading...