नक्कली शैक्षिक प्रमाणपत्र र शिक्षक लाइसेन्सको भरमा आयोग उत्तीर्ण शिक्षक अख्तियारको फन्दामा

काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र र शिक्षक अध्यापन अनुमति पत्र (शिक्षक लाइसेन्स)को आधारमा शिक्षक सेवा आयोगको स्थायी परीक्षा उत्तीर्ण गरेका एक शिक्षक बिरुद्ध अदालतमा मुद्दा दायर गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली प्रमाणपत्र र शिक्षक लाइसेन्सको आधारमा आयोग उत्तीर्ण शिक्षक जितेन्द्र कुमार झा बिरुद्ध मुद्दा दायर गरेको हो ।

सुर्योदय माध्यमिक विद्यालय हुम्लामा शिक्षक सेवा आयोगको सिफारिस पत्रानुसार माध्यमिक तहको तृतीय श्रेणीको विज्ञान विषयको शिक्षक पदमा नियुक्ति भएका झाले शिक्षा शास्त्र विषयमा अध्यापन नगरेको र शैक्षिक तालिम पनि नलिएको पाइएको हो ।

सप्तरी जिल्लाबाट नक्कली अध्यापन अनुमति पत्र लिई महादेव मावि दार्मा, हुम्लामा माध्यमिक तहको विज्ञान विषयको शिक्षक पदमा नियुक्ति भएको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा झाले बि.एन. मंडल विश्वविद्यालय, लालुनगर, मध्येपुरा बिहारबाट जारी गरिएको बी.एस्सी. (एच) को प्रमाणपत्रसमेत नक्कली पाइएको अख्तियारले जनाएको छ ।

उनी नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी २०६५ वैशाख १५ देखि महादेव माध्यमिक विद्यालय, दार्मा, हुम्लामा माध्यमिक शिक्षकमा अस्थायी नियुक्ति भएको र २०७१ साउन १  देखि लागु हुनेगरी माध्यमिक तहको तृतीय श्रेणी विज्ञान विषयको स्थायी शिक्षक पदमा नियुक्ति भई सुर्योदय उच्च माध्यमिक विद्यालय, श्रीनगर, हुम्लामा कार्यरत रहेका थिए । उनी बिरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

Loading...