धनुषामा विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको संख्या १२ पुग्यो, उत्पादनमा संलग्न ७ जना पक्राउ

धनुषा । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका २ रमदैया बस्तीमा दुईसातायता विषाक्त मदिरा पिउँदा मृत्यु हुनेको संख्या १२ पुगेको छ। पछिल्लो पटक उपचारको क्रममा ईन्द्रजीत महरा, सत्रुधन मण्डल र माउसराम यादवको मृत्यु भएको हो। उनीहरुको शुक्रबार मृत्यु भएको प्रहरीले जनाएको छ।

ईन्द्रजीतको धरानमा, सत्रुधनको जानकी मेडिकल शिक्षण अस्पतालमा र माउसराम यादवको घरमै मृत्यु भएको स्थानीय उमेश यादवले जानकारी दिए।

होली पर्वको अवसरमा मदिरा सेवन गरेका स्थानीय ४० वर्षीय ब्रमहेव यादव, ३५ वर्षीय विलास मण्डल, ६० वर्षीय गुदरी महरा, रामनारायण महरा र ससुराली घरमा बस्दै आएका धनुषाकै रूपैठाका राजु महरासहित ५ जनाको बुधबार र बिहीबार मृत्यु भएको थियो।

दुईसाता अघि रमदैया गाउँकै बस्तीमा मदिरा सेवनबाट निरश यादव, भुटन सदा, दशै महरा र विजय सदाको मृत्यु भएको पुष्टि भएको छ।

प्रहरीले भने बुधबार यता ज्यान गुमाउने ७ जनाको मृत्यु मात्रै पुष्टि गरेको छ। ईलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक पप्पु नायकले अहिलेसम्म ७ जनाको मात्रै मृत्यु भएको दाबी गरे।

तर स्थानीयले भने बुधबार यता मात्रै मदिरा पिउँदा ८ जनाको मृत्यु भइसकेको बताएका छन्। ‌मदिरा सेबनबाट ५ जना सिकिस्त छन्। उनीहरुलाई उपचारको लागि अस्पताल भर्ना गरिएको छ। बस्तीकै रामइशर महरा, प्रदीप सदा, भरत सदा र भरत मण्डलको जानकी मेडिकल शिक्षण अस्पताल र सीतारम यादवको जानकी हेल्थकेयरमा उपचार भइरहेको छ। रामइशर र सीतारामको अवस्था गम्भीर रहेको चिकित्सकहरुले बताएका छन्।

प्रहरीले घरेलु मदिरा उत्पादन तथा बिक्री गरेको आरोपमा ७ जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार स्थानीय रमानन्द साह, तारा पट्टीबालि भनिने छठियादेवी मण्डल, धुरण यादव, जगतकुमार यादव, शीतलदेवी यादव, महोतरी भंगहा नगरपालिका-३ का जगतनारायण मण्डल, धनुषा लक्ष्मिनियाँ गाउँपालिका-६ बगेवाका नवीन यादवलाई पक्राउ गरिएको हो।

घटना अनुसन्धान र सोधपुछका लागि उनीहरूलाई पक्राउ गरिएको धनुषा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए।

Loading...