स्थानीयको प्रदर्शनले उग्र रुप लिएपछि सो क्षेत्रमा कर्फ्यु आदेश जारी

सिन्धुपाल्चोक, ५ माघ। बाह्रबिसे नगरपालिका वडा नम्बर ३, ४, र ९ को अरनिको लोकमार्ग स्थित बाह्बिसे बजारको सडक आसपासमा बनाइएको अस्थायी संरचना भत्काएको बिषयमा स्थानीयको प्रदर्शनले उग्र रुप लिएपछि जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले सो क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ ।

शुक्रबार बजार क्षेत्रमा अनधिकृत रूपमा बनाइएका घर तथा टहरा बाह्रबीसे नगरपालिकाको अग्रसरतामा भत्काइएको थियो । विरोधका बीच नगरपालिकाले अनधिकृत घर–टहरा भत्काएपछि बाह्रबीसेमा प्रदर्शन भएको थियो । नगरपालिकाको कदमबाट रुष्ट प्रदर्शनकारीले शनिबार नगरपालिका कार्यालयमा तालाबन्दी गर्नुका साथै गमलालगायतमा तोडफोड गरेका थिए ।

जिल्ला प्रशासन कार्यालयले आज बिहान एक विज्ञप्ति प्रकाशन गदै कर्फ्यु लगाएको जानकारी दिइएको हो । प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङद्वारा हस्ताक्षरित विज्ञप्तिमा आइतबार बिहान ८:०० बजेदेखि बेलुकी ५ बजेसम्म कर्फ्यु लगाइएको जानकारी गराइएको छ ।

हुलदंगा र अशान्ति हुन सक्ने संभावना देखिएकोले स्थानीय प्रशासन ऐन २०२८ को दफा ९३क० बमोजिम कर्फ्यु लगाइएको प्रजिअ चेम्जोङले जानकारी दिइन् । बाह्रबिसे बजारदेखि पूर्वदिशा ३ सय मिटर, पश्चिम दिशा तर्फ भोटेकोशी नदीको मोटरेबल पुल, उत्तरतर्फ इलाका प्रहरी कार्यालय र दक्षिणदिशा तर्फ बाह्बिसे बजारबाट पिस्कर र क्षमादेवी जाने बाटोसम्म कर्फ्यु लगाइएको जानकारी दिइएको छ ।

टहरा हटाइएको बिषयमा असन्तृष्ट पक्षले शनिबार बाह्बिसे नगरपालिकाको कार्यालयमा प्रर्दशन र नाराबाजी गरेका थिए । उनीहरुले आइतबार बिहान ९ बजे नपाको कार्यालयमा तालाबन्दी गर्ने कार्याक्रम राखेका थिए ।

Loading...