सरकारले दियो विप्लव नेकपालाई आतङ्ककारी संज्ञा

काठमाडौं, ३ माघ । विप्लब नेतृत्वकाे नेकपाले आतङ्ककारी शैलीमा क्रियाकलाप सञ्चालन गरेको ठहर गर्दै सरकारले ध्वंसात्मक गतिविधिप्रति राज्य सहनशील हुन नसक्ने प्रष्ट पारेको छ । नेकपाले बुधबार ढुङ्गेधारास्थित एक व्यक्तिको घरमा बम विस्फोट र बालुवाटारस्थित ललितानिवासको जग्गा कब्जाको घोषणा गरेको विषयलाई सरकारले आतङ्ककारी गतिविधिको संज्ञा दिएको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले यसअघि नै विप्लवका गतिविधिलाई सरकारले प्रतिबन्ध लगाइएको विषयलाई पछिल्ला घटनाक्रमले पुष्टि गरेको बताए ।

“लुकेर गतिविधि गर्ने भएकाले हामीले पहिल्या नै भनेका हौँ, विप्लबको गतिविधि आतङ्ककारी क्रियाकलाप हो”, उनले भने, “लुकेर, छिपेर हमला गर्ने गतिविधि आतङ्ककारी शैली हो, त्यसले उनिहरुलाई राम्रो गर्दैन, त्यो राम्रो कुरा पनि होइन ।” विप्लबले गरेको ध्वंसात्मक गतिविधिप्रति खेद प्रकट गर्दै उनले कानूनी प्रक्रिया र विधिद्वारा समस्याको निरुपण गरिने बताए ।

ललितानिवासको जग्गा हिनामिना प्रकरणमा नेपाल सरकार आफैँले छानबिन चलाइरहेको उल्लेख गर्दै उनले सार्वजनिक चासो प्रकट भइरहेको विषयमा कुनै हल्ला फैलाएर शक्तिशाली देखिन विप्लबले सो हर्कत गरेको बताए । “विप्लबले कब्जा गरेर जग्गा कब्जा हुँदैन । नेपाल सरकार आफैँले ललिता निवासको जग्गाको सम्बन्धमा छानबिन चलाइरहेको छ । त्यो अरु कसैले भनेर होइन, जग्गा हिनामिना भएको छ भन्ने सरकार आफैँले थाहा पाएपछि छानबिन गरेको हो”,

उनले भने, “त्यो जग्गा जसले जे भने पनि नेपाली जनताको हो, नेपाल सरकारको हो । हामी त्यो जग्गाको वास्तविकता पत्ता लगाउँछौँ, सरकारी जग्गा व्यक्तिलाई दिन सकिँदैन ।” विप्लबलाई शान्तिपूर्ण प्रक्रियामा आउन सरकारले पटकपटक आग्रह गरेको उल्लेख गर्दै उनले विप्लबका केही व्यक्ति सो समूह परित्याग गरेर विभिन्न दल प्रवेश गरिसकेकाले शान्तिपूर्ण गतिविधि सञ्चालन गर्न अनुरोध गरे ।

“उनिहरु विप्लव समूह सरकारले आरोप लगायो भने, सरकारले यहाँ यहाँ आक्रमण गर त भनेको छैन नि उनिहरुले टेलिफोनको टावर ध्वस्त बनाएका छन । यो त जनताको सम्पत्ति हो । एक/एक पैसा तिरेर देशले बनाएको हुन्छ”, उनले प्रश्न गर्दै भने, “त्यो त सरकारको सम्पत्ति होइन नि, जनताको सम्पत्ति हो नि ! जनताको सम्पत्तिमाथि किन खेलबाड गर्नुपर्यो ?”

 

Loading...