याैन सम्बन्ध राख्न नमानेपछि बलात्कार गरेर हत्या

वीरगन्ज, २४ असाेज । यौन सम्बन्ध राख्‍न गरिएको आग्रह नमानेपछि पर्साको ठोरी गाउँपालिका वडा नम्बर ५ सुवर्णपुरमा एक विवाहीता महिलाको बलात्कार पछि हत्या गरिएको घटना प्रकाशमा आएको छ। स्थानीय गेलुङ लामाको श्रीमती ५० बर्षिया सानी लक्ष्मी बम्जनको उनकै छिमेकी ३१ वर्षिय उमेश हजरा दुसादले गत बिहिबार जर्बजस्ती करणीपछि हत्या गरेका हुन्।

दुसादले बम्जनको बलात्कारपछि टाउकोमा कोदालो र घाटीमा खुर्पीले पटक पटक प्रहार गरी हत्या गरेको पर्साका प्रहरी उपरिक्षक डाक्टर गणेश रेग्मीले मंगलवार आयोजित पत्रकार सम्मेलनमा बताए। पक्राउ परेका दुसादले जर्बजस्ती करणीपछि हत्या गरेको स्वीकार गरिसकेको प्रहरी उपरीक्षक रेग्मीले पत्रकार सम्मेलनमा जानकारी दिए।

गत असोज १९ गते बिहिबार दिउँसो १ बजे तिर भकारी लिप्नका लागि माटो लिन घरबाट निस्किएकी बम्जनको शव उनको घरबाट ६ सय मिटर पर रहेको स्थानीय जमुना चौधरीको ऊखु बारीमा भेटिएको थियो। गत बिहिबार भकारी लिप्नका लागि दुई बोरा माटो ओसारि सकेर तेस्रो पटक माटो लिएर आउँदा उखुबारीमा बम्जनलाइ शौच गर्न गएका दुसादले भेटेका थिए। दुसादले यौन सम्बन्ध राख्न आग्रह गरेपछि बम्जनले अस्वीकार गर्दा दुसादले ढुङगाले उनको टाउकोमा हिर्काएपछि उनी बेहोश भएकी थिइन्।

बेहोश भएकै बेला दुसादले करणी गरिरहेकै अवस्थामा बम्जनको होस खुलेर उनले हो हल्ला गर्न थालेपछि पोल खुल्ने डरले दुसादले , माटो खन्नका लागि बम्जनले लगेको कोदालो र खुर्पीले बम्जनको टाउको र घाटीमा प्रहार गरेर हत्या गरेको प्रहरी उपरिक्षक रेग्मीले बताए।

बलात्कार र हत्यापछि घरमा लुकेर बसेका दुसादलाइ प्रहरीले घटनाको भोलिपल्ट शुक्रबार पक्राउ गरेको थियो। घटनामा संलग्न रहेको आशंकामा दुसाद सहित तीन जनालाइ नियन्त्रणमा लिइएको र अनुसन्धानका क्रममा दुसाद मात्रै दोषी देखिएपछि अरु दुइ जनालाइ छाडिएको पत्रकार सम्मेलनमा प्रहरी उपरिक्षक रेग्मीले बताए।

मंगलबार प्रहरीले गरेको पत्रकार सम्मेलनमा सार्वजनिक गरिएका आरोपित दुसादले पनि आफुले बम्जनको बलात्कार पछि हत्या गरेको बताए।

Loading...