अमेरिकाले भन्यो, विप्लव नेपालका आन्तरिक आतंकवादी, भारतीय आतंकवादीको अखडा नेपाल

काठमाडौं, २० कात्तिक । अमेरिकाले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई नेपालको आन्तरिक आतंकवादीका रुपमा अर्थ लगाएको छ । अमेरिकी विदेश मन्त्रालयले एक प्रतिवेदन सार्वजनिक गर्दै यस्तो बताएको हो । अमेरिकी विदेश मन्त्रालयले गएको शुक्रबार ‘कन्ट्री रिपोर्ट्स अन टेरोरिज्म २०१८’नामक वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै त्यसमा नेपालबारे पनि धेरै चर्चा गरेको हो ।

उक्त प्रतिवेदनमा विप्लव नेकपाले गराएका घटनालाई ‘आन्तरिक आतङ्कवादी गतिविधि’ भएको उल्लेख गरिएको छ । साथै प्रतिवेदनमा पछिल्लो समय त्यस्ता गतिविधि कम भएको पनि प्रष्ट पारेको छ । संयुक्त राज्य अमेरिकाको आतङ्कवादसम्बन्धी वार्षिक प्रतिवेदनले ‘नेपाल अन्तर्राष्ट्रिय आतङ्कवादीहरूका लागि बाटो वा गतिविधि गर्ने विन्दुको रूपमा रहेको र रहिरहन सक्ने’ खतरा पनि औँल्याएको छ।

सन् २०१८ मा नेपालमा कुनै अन्तर्राष्ट्रिय आतङ्कवादी गतिविधि नभए पनि आन्तरिक आतङ्कवादका घटनाहरू भएको प्रतिवेदनमा जनाइएको छ। प्रतिवेदनमा भनिएको छ, “सन् २०१७ को अन्त्यतिर सम्पन्न प्रान्तीय र सङ्घीय चुनावका बेला मतदातालाई तर्साउने अथवा सरकारी अधिकारीहरूलाई निशाना बनाउने घटना भए पनि सन् २०१८ मा आन्तरिक आतङ्कवादका घटना कमै देखिए।”

प्रतिवेदनमा नेपालबारे उल्लेख गरिएकाका मुख्य बुँदा यस्ता छन्:

  • सन् २०१८ मा अन्तर्राष्ट्रिय आतङ्कवादी घटना नभएको
  • सन् २०१७ को तुलनामा सन् २०१८ मा आन्तरिक आतङ्कवादका कम घटना भएको
  • सन् २०१८ मा भएका अधिकांश घटनाका लागि नेपाल सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई जिम्मेवार ठहर्‍याएको
  • ‘विप्लव समूह’ का गतिविधिमाथि नेपालका सुरक्षा निकायहरूले निगरानी राख्ने क्रम जारी राखेको
  • खुला सिमाना र काठमाण्डूस्थित देशको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा अपर्याप्त सुरक्षा व्यवस्थाका कारण नेपाल अन्तर्राष्ट्रिय आतङ्कवादीहरूका लागि बाटो वा गतिविधि गर्ने विन्दुको रूपमा रहेको र रहिरहन सक्ने
  • इन्डियन मुजाहिदीन नामक सङ्गठनले नेपालमा पनि आफ्ना गतिविधि विस्तार गरेको र उसका गतिविधि सञ्चालनका लागि नेपाल अहिले सबैभन्दा ठूलो अखडा बनेको
  • नेपालमा विमानस्थलमा सुरक्षा व्यवस्था कमजोर र अपर्याप्त
  • काठमाण्डूस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रीहरूको प्रि-स्क्रीन नहुने गरेको र डाटाबेसमा ल्यान्डिङ डाटा समावेश नगर्ने गरिएको
  • यात्रीहरूको शरीरको सुरक्षा जाँच सामान्य खालको भएको
  • यात्रासम्बन्धी कागजातको सुरक्षा जाँच गर्ने ‘अल्ट्राभाइलेट लाइट’ को व्यवस्था विमानस्थलमा नभएको
  • सूचनाका लागि नेपाली अध्यागमनका अधिकारीहरूसम्म पहुँच सजिलो भए पनि उनीहरूसँग नगन्य सूचना हुने
  • भारतसँगको खुला सिमानाका सुरक्षा जाँच चौकी थोरै भएको र एउटा जाँच चौकीमा एक जनासम्म हुने गरेको उदाहरण
  • सिमाना काट्नेहरूलाई न रोकिने गरिएको न त सुरक्षा जाँच गर्ने गरिएकोले निगरानीलाई उनीहरूले छल्न सक्ने अवस्था रहेको

नेपाली अधिकारीहरूले अमेरिकी प्रतिवेदनबारे अहिलेसम्म कुनै औपचारिक प्रतिक्रिया जनाएका छैनन्।

Loading...