अदालतमा विचाराधिन भए पनि गल्ती गरेकै हुन भन्दै महराकै निर्वाचन क्षेत्रमा पुगे प्रचण्ड

दाङ, २० कार्तिक । निवर्तमान सभामुख कृष्णबहादुर महरा अहिले काठमाडौंको डिल्लीबजारस्थित सदरखोर जेलमा छन् । संसद सचिवालयमै काम गर्ने कर्मचारीमाथि यौन दुव्र्यवहार गरेको आरोपमा उनी पुर्पक्षका लागि जेल गएका हुन् । नाटकीय घटना झै लाग्ने महराको यो प्रकरणमा धेरैको जिज्ञासा रहेको पक्ष हो आजसम्म दाहिने हातका रुपमा काम गरेका महरालाई प्रचण्डले किन संरक्षण गरेनन् । त्यस विपरित पछिल्लो समय त प्रचण्डले महराको यो प्रकरणमा गल्ती नै भएको बताउँदै हिडेका छन् ।

यसै क्रममा नेपालगञ्ज हुँदै दाङ पुगेका प्रचण्डले महराले गल्ती गरेको बताएका छन् । यसअघि नेपालगञ्जमा समेत महराले गल्ती गरेको बताएका प्रचण्डले उनी निर्वाचित भएको जिल्ला दाङमा पुगेर पनि सोही धारणा दोहो¥याएका छन् । महरा २०७४ को संघीय प्रतिनिधि सभाको निर्वाचनमा दाङबाट निर्वाचित भएका हुन् ।

महराको निर्वाचन क्षेत्रमै पुगेर बुधबार प्रचण्डले महराले नैतिक गल्ती गरेको बताउँदै उनको सजायको छिनोफानो अदालतले गर्ने बताए । प्रचण्डले भने, ‘यो विषय अदालतमा गएकाले राजनीतिक रुपमा धारणा राख्नु उचित होइन । उच्च आहोदामा पुगेको व्यक्तिबाट त्यस्तो गल्ती हुनुहुँदैनथ्यो ।’

महराका बारेमा सञ्चार माध्यमा समाचारहरु आएपछि आफूले पार्टीका नेता नारायणकाजी श्रेष्ठ र जोगबहादुर महरालाई भेटेर सोध्न पठाएको तर, त्यहाँ महराले सत्य कुरा नगरेपछि स्वयम आफू महरालाइ भेट्न पुगेको खुलासा गरे । तर, आफूसँगको भेटमा महराले सत्य कुरा नबताएको प्रचण्डले बताए ।

 ‘महराजी थुनामा गैसक्नु भयो, अव उहाँलाई पनि मेरो गल्तिको सजाय पाउनुपर्छ भन्ने लागेको होला’, प्रचण्डले भने, ‘यो गर्नुभनेको राष्ट्रलाई पनि सघाउनु हो, समाजलाई सही दिशातर्फ लैजाने प्रक्रियालाई सघाउनु हो ।’

उनले भने, ‘सत्य कुरा बताउनु भएन । उच्च ओहोदामा पुगेको व्यक्तिबाट यस्तो खालको जवाफ आउनु उहाँको पहिलो गल्ती नै त्यहीँ हो, महराको गल्ती क्रिमिनल होइन, नैतिक हो ।’

महरालाई प्रचण्डले नै अहिलेसम्म अगाडि बढाएर यहाँसम्म पु¥याएका हुन् । महरालाई २०४८ सालमा पार्टीको संसदीय दलको नेतादेखि २०५८ सालमा पार्टीको तर्फबाट सरकारसँग वार्ता गर्न गठित टोलीको संयोजक, २०६०मा फेरि वार्ता टोलीको सदस्य, त्यसपछि निरन्तर संसद, परराष्ट्र, गृह, अर्थ मन्त्रालयको जिम्मा, पार्टीको महासचिव हुँदै सभामुखसम्मको जिम्मा दिने काम प्रचण्डले नै गरेका थिए । महरालाई मात्र सधै ठूलो जिम्मा दिने कुराको जनयुद्ध कालदेखि नै विरोध पनि हुँदै आएको थियो । तर, प्रचण्डले यतातिर वास्ता गरेनन् । महराले पनि सधै प्रचण्डका लागि धेरै काम गरे । प्रचण्डको आर्थिक व्यवस्थापन गर्ने र पार्टीलाई आम्दानी बढाउने काम पनि प्रचण्डको निर्देशनमा महराले गरेको बताइन्छ । तर, पछिल्लो समय महरालाई प्रचण्डले नसघाएको र उनलाई सकेसम्म सजाय नै होस भन्नेतिर उनी लागेको अहिले उनको वृतमा चर्चा चल्ने गरेको छ । यसलाई धेरैले आश्चर्यका रुपमा लिएका छन् ।

Loading...