फूल खेतीतर्फ आकर्षण बढ्दो

बेझाड, ४ कात्तिक । पाल्पाको रामपुरका दिलबहादुर थापाले शुरु गर्नुभएको व्यावसायिक फूल खेतीतर्फ गाउँका अन्यको समेत आकर्षण बढ्दो छ । फूल खेतीको अवलोकन गर्न आउनेको चहलपहल बढ्दै गएको छ ।

थापाले जग्गा भाडामा लिएर फूल खेती थालेका। उनले तिहार पर्वलाई लक्ष्य गरी मखमलीलगायत फूलखेती शुरु गरेका छन । रामपुरमा नयाँ व्यवसाय भएकाले फूल खेतीतर्फ अन्यको आकर्षण ह्वात्तै बढेको छ । फूलसम्बन्धी बुटवलमा एक हप्ताको तालीम लिएका थापाले परीक्षणका रुपमा डेढ रोपनी क्षेत्रफलमा फूल लगाएका हुन । “अहिले फूल फुल्न थालेको छ, खरिद गर्न आउनेको सङ्ख्या बढ्दै गएको छ”, उनले भने ।

नेपालगञ्ज, बुटवललगायत बजारबाट फूलको माग आएको थापा बताउछन । उनले पहिलो पटक नेपालगञ्ज बजारमा फूल बिक्रीका लागि पु¥याइसकेका छन । “परीक्षणका रुपमा थोरै जग्गामा फूल लगाए, माग बढ्दै गएको छ”, उनले भने । थापाले मालाको आकार अनुसार प्रतिमाला रु एक सयदेखि रु एक सय ५० सम्म तथा प्रतिकिलो रु तीन सय ५० सम्ममा फूल बिक्री गर्दै आएका छन । अहिले रामपुर क्षेत्रमा हुने गरेका सभा, समारोह, कार्यक्रमलगायतमा थापाले उत्पादन गरेको फूल बिक्री भइरहेको छ ।

थापाले फूलका बिरुवा समेत उत्पादन गर्दै आएका छन । उनले फूलप्रति बिरुवा रु २० मा बिक्री गर्छन । थापाले रामतुलसी मावि र रामपुर आधारभूत विद्यालयलगायतलाई अनुदानमा फूलका बिरुवा उपलब्ध गराउँदै आएका छन । रामपुर क्षेत्रमा पछिल्लो समय चाडपर्वमा बजारमा आएका प्लाष्टिकको माला खपत बढ्न थालेको देखेपछि उनले फूल खेती शुरु गरेका हुन । “फूल नपाएर प्लाष्टिकका माला किनेर लगाउनुपर्ने अवस्था थियो”, उनले भने ।

दश वर्ष विदेशमा मजदूरी गरेर फर्किएका थापाले दुई वर्षदेखि गाउँमै तरकारी खेती शुरु गरेका छन । मखमली र सयपत्री फूललाई विशेष गरी तिहारको मुख्य पहिचानका रुपमा लिने गरिन्छ । फूलको महत्वबारे स्थानीयवासीले चासो नदिँदा गाउँघरमा फूल लोप हुने अवस्थामा पुगेको थियो । थापाको फूल खेतीले धेरैको मन जितेको छ । फूलले बजार नपाए रामपुर नगरपालिकाले बजार व्यवस्थापन गर्ने जिम्मा लिएको छ । नगरपालिकाले बजार व्यवस्थापनको जिम्मा लिने भएपछि थापाको हौसला बढेको छ ।

Loading...