नेपाली क्रिकेटमा अर्को सफलता । हङकङलार्इ ५ विकेटले पराजित गर्दै नेपाल बन्यो च्याम्पियन

काठमाडाैं, १ असाेज । नेपाली क्रिकेटमा अर्काे सफलता हात परेकाे छ । नेपाली अन्डर १९ टाेलीले बलियाे मानिएकाे हङकङलार्इ पाँच विकेटले पराजित गरेकाे छ । यससँगै नेपाल एसिसी यु–१९ पूर्वी क्षेत्र छनोट अन्तर्गत च्याम्पियन बनेको छ।

हङकङले दिएको ७७ रनको लक्ष्य नेपालले १४.४ ओभरमा ५ विकेट गुमाएर भेटायो। तेस्रो ओभरको पहिलो बलमै आसिफ सेखलाई करनदीप सिंहले शेरयर सिदको हातबाट १ रनमै क्याचआउट गराए।

त्यसपछि दोस्रो विकेटका लागि सन्दीप सुनारले अनिलकुमार साहसँग २८ रनको साझेदारी गरे। दुबैलाई तिनै करनदीपले सातौ ओभरमा पवेलियन फर्काउदा नेपाली पारी धरमराएको थियो।

सातौं ओभरको पहिलो बलमा सन्दीपलाई (१९) बोल्ड गरेका करनदीपले ओभरको अन्तिम बलमा अनिलकुमार साहलाई सिकन्दर जफरको हातबाट क्याच गराएका थिए।

१४ औ ओभरमा जटादेबले फेरी उस्तै तरिकाले विकेट लिए। पहिलो बलमा कप्तान दीपेन्द्रसिंह ऐरी २४ रनमा पवेलियन फर्काएका उनले अन्तिम बलमा भर्खरै क्रिजमा आएका सुमित महर्जन (०) लाई एलबिडब्लुको सिकार बनाए। प्रनित थापामगर १९ र रोहितकुमार पौडेल (०) मा क्रिजमा नटआउट रहँदा नेपाल च्याम्पियन बन्यो।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङले ३२.१ ओभरमा सबै विकेट गुमार ७६ रन मात्रै बनाउन सक्यो। नेपाली बलरहरुले उत्कृष्ट प्रदर्शन जारी राखेपछि हङकङ सो स्कोरमा रोकिएको हो।

पहिलो ओभरमै राग कपुरलाई अनिलकुमार साहले शुन्य रनमा विकेट किपर आसिफ सेखको हातबाट क्याच गराउदै उत्कृष्ट सुरुवात दिलाएका थिए। दोस्रो विकेटका लागि हरप्रित सिंह र जटादेबको ३४ रनको साझेदारी सुमित महर्जनले तोडे। उनले कप्तान समेत रहेका जटादेबलाई व्यक्तिगत १६ रनको स्कोरमा रन आउट गरेका थिए।

१३. ३ ओभरमा शाहब आलमले सम्हालिएर खेलिरहेका ओपनर हरप्रित सिंह (२०) लाई एलबिडब्लुको धरापमा पारेपछि हङकङले ठूलो स्कोर बनाउन सकेन्। लगत्तै कबिर सोधी (३), बाजिद शाह (०) , हमिद खान (५) रनमा आउट भए। १५ रनमा खेलिरहेका वाकस खानलाई सन्दिपले एलबिडब्लु आउट गरे।

नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट लिए। ६.१ ओभर बलिङ गरेका उनले ८ रन मात्रै खर्चिए। त्यस्तै शाहब आलमले पनि समान ३ विकेट लिदा ७ ओभर बलिङ गर्दै २ ओभर मेडन राखेर १५ रन खर्चिए। त्यसबाहेक अनिलकुमार साह र दीपेन्द्रसिंह ऐरीले १ विकेट लिए।

Loading...