एनआरएनए जापान र नेपाली दुतावासबीच टोकियोमा छलफल

टोकियो । जापानको राजधानी टोकियोमा नेपाली दुतावास र नवनिर्वाचित एनआरएनएको राष्ट्रिय कार्यसमितिबीच छलफल भएको छ ।

केही समयअघि भएको एनआरएनए जापानको निर्वाचनबाट २०१९–२०२१ का लागि निर्वाचित कार्यसमिति र नेपाली राजदुतावासको टोलीबीच यो छलफल भएको हो । छलफल कार्यक्रममा दुतावासका तर्फबाट जापानका लागि नेपाली राजदूत महामहिम प्रतिभा राणा, उपनियोग प्रमुख कृष्णचन्द्र अर्याल लगायत दुतावासको टोली रहेको थियो । त्यसैगरी एनआरएनए जापानको तर्फबाट नवनिर्वाचित अध्यक्ष देवीलाल भण्डारीको नेतृत्वमा बरिष्ठ उपाध्यक्ष अनिता गुरुङ्गसहितका कार्यसमितीका पदाधिकारीहरु तथा सदस्यहरुको उपस्थिति रहेको थियो।

कार्यक्रममा पहिलो चरणमा नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुले पालै पालो आफ्नो परिचय तथा भनाईहरु राख्ने कार्यक्रम सम्मपन्न भएको थियो भने दोस्रो चरणमा नवनिर्वाचित कार्यसमितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरुलाई राजदूत प्रतिभा राणाले खादा ओढाएर बधाइ तथा सफल कार्यकालको शुभकामना दिएकी थिइन ।

कार्यक्रममा राजदूत राणाले एनआरएनए जापान २०१९–२०२१ कार्यकालको टिमले सम्पूर्ण क्षेत्रलाइ समेटेको आफुलाई महशुस भएको बताउँदै नयाँ टिमसँग काम गर्न सजिलो हुने आशा व्यक्त गरिन । त्यस्तै नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्नु सबै जापानवासी नेपालीहरुको जिम्मेवारी भएकोले जापानवासी नेपालीहरु सबै पर्यटन राजदूतकै भूमिकामा रहेर काम गर्न अनुरोध गरिन । उनले जापान नेपाल सिधा हवाई सेवा, उच्चस्तरीय भेटवार्ता, नेपालीहरुलाई रोज़गारी लगायतका धेरै हदसम्म आफुले पाएको ज़िम्मेवारी पूरा गर्न सकेकोमा खुसी व्यक्त गरिन ।

उक्त अवसरमा एनआरएनए जापानका अध्यक्ष देवीलाल भण्डारीले सदाझै नेपाली राजदुतावासको साथ र सहयोग रहनेमा आफु विश्वस्त रहेको विचार व्यक्त गरे । उनले आफुले जहिले पनि दुतावासको सहकार्यमा जापानमा रहेका नेपालीका हक़ हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा नेपाली दुतावासका उपनियोग प्रमुख कृष्णचन्द्र अर्यालले दुतावासबाट प्रकाशित हुने महत्वपूर्ण सूचनाहरु सम्पूर्ण जापानवासी नेपालीहरुमा पुर्याउन सबैले पहल गर्नुपर्नेमा जोड़ दिए ।

यसैबीच सेक्टेम्बर २९ तारिख आइतवारको दिन एनआरएनए जापानको आयोजनामा सोलमारी मुराहल टोकियोमा एक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । एनआरएनए जापानले उक्त कार्यक्रम दिउसो १–४ बजेसम्म हुने जानकारी दिँदै कार्यक्रममा माननीय भुमिसुधार व्यवस्था, कृषि तथा सहकारी मन्त्री डाउन दोर्जे लामा, द्वितीय सचिव डा. योगेन्द्र कुमार कार्की, तृतीय सचिव बालकृष्ण घिमिरे, सुरा थपलिया, उषा गिरी लगायत नौ जना व्यक्तित्वहरुको सहभागिता रहने जनाएको छ । उक्त कृषि सम्बन्धि अन्तक्रिया कार्यक्रममा जापानमा रहेका बिभिन्न संघ, संस्था लगायत सम्पूर्ण नेपाली समुदायहरुलाई उपस्थितिका लागि एनआरएनएले अनुरोध गरेको छ ।

Loading...