बालाजुमा २ थान पेस्तोलसहित समातिनेमा विप्लवका कार्यकर्तादेखि सेना प्रहरीका भगौडा

काठमाडौँ । शनिवार काठमाडौंको माछापोखरीबाट २ थान पेस्तोलसहित सात जना पक्राउ परेको समाचारले सनसनी फैलायो । राजधानीको कडा सुरक्षा घेराभित्र पनि निस्फिक्री पेस्तोल बोकेर हिड्ने ग्याङ भेटिएपछि सर्वसाधारण त्रसित बने ।

प्रहरीले उनीहरुलाई पक्राउ गरेर अनुसन्धान गरेपछि पक्राउ पर्नेमा सरकारद्वारा प्रतिबन्धित पार्टी विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्तासमेत यसमा जोडिएका छन् । एक सुन व्यापारीको १० लाख पैसा लुटे लगत्तै उनीहरु पक्राउ परेका थिए । पक्राउ परेकाहरुमा विप्लवका कार्यकर्तादेखि प्रहरी र नेपाली सेनाका भगौडा समेत भेटिएका छन् । यो समूहले रसुवाबाट भित्रिने सुन लुट्ने योजना बनाइरहेको र सोही क्रममा सस्तोमा सुन बेच्ने भन्दै एक सुन व्यापारीलाई लुटेको थियो ।

काठमाडौं महानगर १६ बालाजु माछापोखरीस्थित हाई रेष्टुरेण्ट एण्ड डान्सबारबाट सानो चाइनिज पेस्तोल २ थान, सोको गोली ४ राउण्ड र नक्कली सुन १ किलोसहित ९ जनालाई महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको विशेष टोलीले शनिबार साँझ पक्राउ गरेको थियो ।

पक्राउ पर्नेहरुमा काठमाडौं जरङ्खु बस्ने नुवाकोट तारकेश्वर गाउँपालिका १ का २९ वर्षीय राम बहादुर तामाङ, जरङ्खु बस्ने नुवाकोट बिदुर नगरपालिका ७ का २७ वर्षीय पिटर तामाङ, फुटुङ बस्ने गोरखा अजिरकोट गाउँपालिका ४ का ३८ वर्षीय कुशल अधिकारी, शेषमति बस्ने नुवाकोट बिदुर नगरपालिका १० का २५ वर्षीय धर्मराज तामाङ रहेका छन् ।

यसैगरी, नेपालटार बस्ने धादिङ खनियाबास गाउँपालिका ५ का २६ वर्षीय बिजय तामाङ, स्वयम्भू बस्ने रसुवा छोदिम्बु गाउँपालिका ४ का ३० वर्षीय योर्साङ लामा, सतुङगल बस्ने गुल्मी ईस्मा गाउँपालिका ५ का ३० वर्षीय युवराज भण्डारी, रसुवा उत्तरगया गाउँपालिका ६ का ३६ वर्षीय छिरिङ तामाङ र माकलबारी बस्ने नुवाकोट तारकेश्वर गाउँपालिका १ का २८ वर्षीय राजन तामाङ रहेका छन् ।

प्रहरीका अनुसार योर्साङ घले विप्लवका लडाकु हुन् भने कुशल अधिकारी सेनाका भगौडा हुन् । त्यस्तै युवराज भण्डारी सशस्त्र प्रहरी जवान हुन् । घले समूहका नाइके रहेको खुलेको छ । यस्तै रामबहादुर तामाङ, धर्मराज तामाङ, विजय तामाङ र पिटर तामाङ हाइ रेस्टुरेन्टका संचालक रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरूका साथबाट चाइनिज पेस्तोल २ थान, सो पेस्तोलको म्याग्जिन २ थान, सोही पेस्तोलको गोली ४ राउन्ड समेत बरामद गरेको छ । परिसरका एसपी अशोक सिंहका अनुसार बरामद दुवै हतियार नेपाल प्रहरीले प्रयोग गर्छ ।

प्रहरीका अनुसार बर्दघाटका योगेश बिकलाइ माछापोखरीकै होटल मुस्ताङमा लुटेपछि यो समुहको खोजी सुरू भएको थियो । परिसरको विशेष टोलीले क्लोज सर्किट क्यामरामा देखिएको तस्बिरका आधारमा यो समूहका एकजनालाई सुरूमा र पछि उनकै सूचनापछि थप पक्राउ परेका एसपी सिंहले बताए ।

उनीहरुको साथबाट नक्कली सुन १ केजी, फलाम काट्ने औजार १ लुटिएका पर्स, एटीएम कार्ड र मोबाइल २ थान समेत बरामद गरेको प्रहरीले बताएको छ । यसैगरी लुटिएको झोला, ७ थान मोबाइल र ४ थान मोटरसाइकल समेत बरामद गरेको छ । उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Loading...