सामूहिक बलात्कारपछि महिलाको हत्या गर्ने अभियुक्तहरु सार्वजनिक

बनेपा । एक साता अघि सामूहिक बलात्कारपछि महिलाको हत्या गर्ने अभियुक्तहरुलाई प्रहरीले सार्वजनिक गरेको छ । बुधबार जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलन गरि उनीहरुलाई सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेहरुमा भूम्लुटार गाउँपालिका–३ बस्ने ३२ वर्षीय राजु भन्ने गोपाल परियार, धुलिखेल नगरपालिका–७ बस्ने ३० वर्षीय हमाल भन्ने साधुराम विक, नमोबुद्ध नगरपालिका निवासी २७ वर्षीय ठूलोभाइ भन्ने महेश परियार त्यसैगरी सिन्धुपाल्चोकको ३२ वर्षीय कुलबहादुर भन्ने सीताराम थापा तथा रामेछापका २४ वर्षीय प्रकाश परियार र ३३ वर्षीय दिलबहादुर प्रधान रहेका छन ।

अभियुक्तहरुलाई नगरमा जडान गरिएको सीसी क्यामेराको सहायताले पक्राउ गरिएको प्रहरीले बताएको छ । सबै अभियुक्तहरुले अपराध कबुल गरिसकेको प्रहरीको भनाइ छ ।

 

पत्रकारसम्मेलनमा प्रहरी उपरीक्षक सहदेव थापाले बलात्कारका क्रममा अचेत भएकी ती महिलाको अचेत अवस्थामै मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको जानकारी दिए ।

बनेपा नगरपालिका–८ स्थित इँट्टाभट्टा नजिकै एक साताअघि मकैबारीमा मृत अवस्थामा बनेपा–१० बस्ने ५७ वर्षीय एक महिलाको अर्धनग्न शव फेला परेपछि प्रहरी अनुसन्धानमा जुटेको थियो ।

घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले भनेको छ ।

Loading...