ट्राफिक नियममा कडाई र दुर्घटना न्युनिकरण पहिलो प्राथमिकता : सर्लाही ट्राफिक प्रहरी प्रमुख

सर्लाही, ४ भदौ । जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी निरीक्षक सूर्य नारायण यादवले आफ्नो कार्यकालमा ट्राफिक नियमलाई कडाईका साथ लागू गरिने र सडक दुर्घटना न्युनिकरण गरिने प्रतिवद्धता प्रकट गरेका छन् । ट्राफिक नियमको पालना र सडक दुर्घटना न्युनिकरणमा आफ्नो पहिलो प्राथमिकता रहेको उनको भनाइ छ ।

भर्खरै कार्यभार सम्हालेका ट्राफिक प्रहरी प्रमुख यादवले बुधवार जिल्लामा क्रियाशिल पत्रकारहरु संग परिचयात्मक कार्यक्रमको आयोजना गरी आफ्नो प्रतिवद्धता सार्वजनिक गरेका हुन् ।

आफ्नो कार्यकालमा सर्लाही जिल्लामा ट्राफिक प्रहरी भित्र चुस्त दुरुस्त र प्रभावकारी रुपमा कार्य सम्पादन हुने दावी गर्दै यादवले ट्राफिक प्रहरीको आफ्नै भवनबाट कार्य थालनी गर्ने समेत बताए ।जिल्लाको लालबन्दी नगरपालिका स्थित नवलपुर चोकमा जिल्ला ट्राफिक प्रहरी कार्यालय सहित हरिवन ,नयारोड ,बागमती , मलंगवा ,हरिपुर बयलबास लगायत ९ स्थानमा ट्राफिक प्रहरी पोष्ट राखि ट्राफिक प्रहरीले सेवा प्रवाह भैरहेको उनको भनाइ छ ।

उनले जिल्लाका नवलपुर, हरिवन ,लालबन्दी, नयारोड, बरहथवा, बयलबास, हरिपुर, मलंगवाका चौक हरुमा बस तथा अन्य सवारी साधनको ब्यबस्थित पार्किङ्गको व्यवस्था मिलाउने समेत बताए ।

यादवले ट्राफिक नियम समन्धी जनचेतना मुलक कार्यक्रम गर्ने र विद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई ट्राफिक नियम समन्धी शिक्षा समेत प्रदान गर्ने योजना सुनाए ।

जिल्ला ट्राफिक कार्यालयमा ३१ जना ट्राफिक प्रहरीको दरबन्दी भएको भन्दै यादवले ट्राफिकको एक्लो प्रयासबाट मात्रै व्यवस्थापनको काम सम्भव नभएकोले आफूलाई समुदाय र संचारकर्मीको महत्वपुर्ण सहयोग प्राप्त हुने बिस्वास व्यक्त गरेकाा थिए ।

जिल्ला ट्राफिक प्रहरी प्रमुख राजकुमार शाही प्रहरी प्रभाग बालाजुमा सरुवा भए पछि उनको ठाउँमा केही दिन अघि मात्रै सर्लाही ट्राफिक प्रहरी प्रमुखको रुपमा यादवले पद सम्हालेका हुन् । उनी यस अघि ललितपुर प्रहरी परिसरबाट सरुवा भै आएका हुन् ।

Loading...