ज्ञानको समृद्धिकरणमा माक्र्सवाद र एसियाली दर्शन

काठमाडौँ, ४ भदौ । पहिलोपटक आयोजना गरिएको माक्र्सवाद र एसियाली दर्शन अन्तर्राष्ट्रिय सम्मेलन दुईबुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । नेपाल संस्कृत विश्वविद्यालय, नेपाल खुला विश्वविद्यालय र माक्र्सीय गुरुकुलले संयुक्त रुपमा सोमबारदेखि काठमाडौँमा आयोजना गरेको सम्मेलनमा नेपाल, भारत, चीन, जर्मनी, बेलायतलगायत देशका ३०० प्रतिनिधिको सहभागिता थियो ।

सम्मेलनले माक्र्सवाद र एसियाली दर्शनलाई दार्शनिकबीच खुल्ला संवाद एवं बहस गराई विचार, ज्ञान र दर्शनको समृद्धिकरणमा निरन्तर जुटिरहने घोषणा गरेको छ ।यसैगरी वर्षमा कम्तीमा एउटा बृहत् राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मेलन गर्ने प्रतिबद्धता पनि गरिएको आयोजक समितिका सदस्यसचिव डा प्रेमराज न्यौपानेले जानकारी दिए ।

समापन समारोहलाई सम्बोधन गर्दै वरिष्ठ माक्र्सवादी चिन्तक मोहन वैद्यले नेपालका मौलिक दर्शनदेखि माक्र्सवादको विषयवस्तुबारे बहस शुरु हुनु सकारात्मक रहेको बताए ।

संस्कृत भाषा ज्ञानको भण्डार भएकाले सबैलाई अनिवार्य पढ भन्न नसकिए पनि जान्न र बुझ्नका लागि पनि अध्ययन गर्नुपर्नेमा उनले जोड दिए । नेपाल संस्कृत विश्वविद्यालय अनुसन्धान केन्द्रका निर्देशक डा काशीनाथ न्यौपाने, माक्र्सीय गुरुकुलका अध्यक्ष सोनाम साथीलगायतले एसियाली र माक्र्सवादी दर्शनका राम्रा विषयलाई छनोट गरी अध्ययन–अनुसन्धान गरिनुपर्नेमा जोड दिए।

Loading...