छिमेकीका विषयमा हलुका टप्पणी नगरौँ: परराष्ट्रमन्त्री

काठमाडौँ, २ भदौ । नेपालका निकटका छिमेकी तथा बाह्य सम्बन्धका बारेमा हलुका टीकाटिप्पणी नगर्न सरकारले सबै राजनीतिक दल र तिनका नेतासँग आग्रह गरेको छ । केही दिनअघि प्रतिनिधिसभा, अन्तरराष्ट्रिय सम्बन्ध समितिको बैठकमा नेपाल–भारत सम्बन्धमा आँच पुग्ने गरी एक जना सदस्यले गरेको टिप्पणीप्रति असहमति जनाउँदै सरकारले त्यस्तो आग्रह गरेको हो ।

“नेपालले कहिल्यै कल्पना नगरेको विषयमा गरिएको टिप्पणी सरकारलाई अस्वीकार्य छ”, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आज परराष्ट्र मन्त्रालयमा भने । समितिमा बोलिएको भनिएको विषयको सत्यताप्रति आफूलाई सन्देह रहेको पनि उनले बताए ।

समितिको बैठकमा नेपाली काङ्ग्रेसका सांसद प्रदीप गिरीले नेपाललाई पनि सिक्किम बनाउने अवसरको खोजीमा भारत रहेको भनेर दिएको अभिव्यक्तिका सन्दर्भमा सञ्चारकर्मीको जिज्ञासा साम्य पार्दै मन्त्री ज्ञवालीले त्यो स्तरको संसद् सदस्यबाट त्यति हलुका टिप्पणी भयो होला भन्ने आफूलाई नलागेको बताए ।

Loading...