पत्रकार सुरक्षाको नयाँ चुनौती : डिजिटल सुरक्षा 

पत्रकारहरुका लागि सुरक्षा नयाँ विषय होइन । संसारभरका पत्रकारहरुका लागि धम्की, आक्रमण, कुटपिट, अपहरण र हत्याबाट सुरक्षित भएर आफ्नो पेसागत कार्य स्वतन्त्र रुपमा गर्नु सबैभन्दा ठूलो चुनौती छ । वर्षेनी एक सयको हराहारीमा पत्रकारहरु पत्रकारिता पेसाकै कारणले मारिन्छन् । हजारौले धम्की र आक्रमण भोग्छन् । सत्य बोल्नुपर्ने, निष्पक्ष हुनुपर्ने र भ्रष्टाचार वा अपराधजस्ता विषयमा लेख्नुपर्ने कारणले पत्रकारिता संसारभर जोखिमको पेसा मानिन्छ । भौतिक सुरक्षा मात्रै नभइ नेपाल जस्ता विकासशील मुलुकमा पत्रकारको पेसागत सुरक्षाको चुनौती पनि छ । तलव सुविधा, जागिरको सुरक्षा र श्रम अधिकारका विषयहरु पत्रकारले भोगिआएका चुनौतीहरु हुन् । नेपालमा यी दुई विषयमा लामो समयदेखि काम र बहस हुँदै आएको छ र नेपाली पत्रकारहरु यी सुरक्षा चुनौतीहरुबाट मुक्त नभए पनि अनभिज्ञ भने छैनन् । 

बदलिदो परस्थितिका कारण पत्रकार सुरक्षामा दुई नयाँ विषयहरु थप्नुपर्ने समय आएको छ ः मनोसामाजिक सुरक्षा र डिजिटल सुरक्षा । पत्रकार सुरक्षाका यी विषयहरु कतिपय अवस्थामा एकअर्कासँग अन्योन्यायश्रित सम्बन्ध राख्ने हुँदा मनोसामाजिक सुरक्षा र डिजिटल सुरक्षाका विषयहरुलाई छोडेर पत्रकार सुरक्षामा अपेक्षाकृत सुधार सम्भव छैन । नेपाली पत्रकारहरुले लामो समयको सशस्त्र द्वन्द्व, वर्षेनी आउने प्राकृतिक विपत्तिहरुका साथसाथै अपराधस्थलमा पुगेर जनधनको क्षतिको समाचार र तस्बिर सङ्कलन गरेका छन् । त्यसबाहेक तनावयुक्त वातावरणमा विदा प्राप्त नगरी वा नलिएर दैनिक आठ घण्टाभन्दा बढी काममा खट्ने गरेका छन् । जसले उनीहरुको मनोस्वास्थ्यमा नकारात्मक प्रभावहरु परिरहेको हुन्छ ।

साथै पत्रकारहरुलाई समाजमा हेर्ने दृष्टिकोण र गरिने व्यवहारका कारण उत्पन्न हुने समस्याहरुको समाधानका लागि मनोसामाजिक सहयोग आवश्यक पर्दछ । यो विषयमा नेपालमा त्यति धेरै बहस वा कार्य भएको छैन । २०७२ को भूकम्पपछि नेपाल पत्रकार महास‌ंघले अन्तर्राष्ट्रिय पत्रकार महासंघको सहयोगमा पत्रकारिता र ट्रमा विषयमा सञ्चालन गरेको कार्यशालामा पत्रकारका मनोसामाजिक सुरक्षाका धेरै सवालहरु उठे पनि त्यसलाई समाधान गर्ने खालका सहयोगी कार्यक्रमहरु सञ्चालन हुन सकेको छैन ।

डिजिटल खतरा र सुरक्षा

तपार्ईको सबै इमेल सन्देशहरु कसैले पढ्न पायो भने के होला ? वा तपार्ईको मोवाइलमा रहेका सबै नम्बरहरु, कल डिटेल, मेसेज र फोटो र भिडियो कसैले हेर्न पायो भने के होला ? वा तपाईको कम्प्युटर वा मोवाइलमा भएका डेटाहरु प्रहरी वा कुनै आपराधिक समूह वा अज्ञात व्यक्तिले खोतल्न पायो भने के होला ? वा तपाईले इन्टरनेटमा कुन कुन साइट हेर्नुभयो वा कुन कुन भिडियो हेर्नुभयो वा फेसबुकमा कसको प्रोफाइल हेर्नुभयो भनेर कसैले सूची पायो भने के होला ? वा तपाई कहाँ कहाँ जानुहुन्छ, को कोसँग कुरा गर्नुहुन्छ वा को कोसँग के के एसएमएस गर्नुहुन्छ वा को कोसँग भेट्नुहुन्छ कसैले थाहा पायो भने के होला ? तपाई पत्रकार हुनुहुन्छ र तपाईका लागि माथि उल्लेखित कुनै पनि अवस्था अपेक्षित होइन किनकि ती अवस्थाहरु भनेको तपाई र तपाई स्रोतको गोपनियता र सुरक्षामाथिको प्रहार हो । तर, तपाई डिजिटल सुरक्षामा ध्यान दिनु हँुदैन भने ती कुनै पनि अवस्था सजिलै आउन सक्छ ।  

सन् २०१२ मा नेपाल पत्रकार महासंघले नेपाली पत्रकारहरुको सोसल मिडिया प्रयोगका सम्बन्धमा सर्वेक्षण गरेको थियो  । जसले झण्डै ९० प्रतिशत पत्रकारहरुले दैनिक इन्टरनेट प्रयोग गर्ने गरेको देखाएको थियो । गएको पाँच वर्षमा नेपालमा इन्टरनेट प्रयोगले फड्को मारिसकेको छ र जनसङ्ख्याको ५५ प्रतिशत सङ्ख्यामा इन्टरनेटको पहुँच पुगेको छ । इन्टरनेट वास्तवमा पत्रकारहरुका लागि मात्र नभइ अन्य सबै पेसाकर्मीहरुका लागि अत्यावश्यक बनेको छ । पत्रकारहरुका लागि त इन्टरनेटको विकासले पेसामा क्रान्तिकारी परिवर्तन ल्याएको छ । पत्रकारहरुका लागि सूचनाको खोज गर्नेदेखि समाचार सम्पादकसम्म पु¥याउनका लागि भरपर्दो माध्यम बनेको छ । कम्प्युटर, ल्यापटपका साथसाथै मोबाइल फोन पत्रकारिताका लागि अत्यावश्यक सामग्री बनेका छन् । डिजिटल प्रविधिमा आधारित इलेक्ट्रोनिक उपकरणहरु क्यामरा, पेन ड्राइभ, वा रेकर्डरहरु पनि पत्रकारले दैनिक प्रयोग गर्ने सामानहरु हुन् । डिजिटल उपकरण र इन्टरनेट पत्रकारिताका लागि बरदान सावित भएका छन् तर यिनको प्रयोगको नकारात्मक र त्यसबाट हुनसक्ने सुरक्षा खतराहरु पनि छन् । 

डिजिटल सुरक्षा भन्नाले ल्यापटप, मोबाइल वा क्यामराजस्ता डिजिटल इलेक्ट्रोनिक उपकरणहरु, त्यसमा रहेका डेटा र ती उपकरणको प्रयोगबाट हुने सञ्चार र ती सञ्चारका सन्देशहरुको सुरक्षा हो । डिजिटल सुरक्षाका उपायहरु अपनाउनका लागि ती कुराहरु असुरक्षित कसरी हुनसक्छन भन्ने जानकारी महत्वपूर्ण हुन्छ । ती उपकरणहरुको भौतिक सुरक्षाका बारेमा पत्रकारहरु जानकार भए पनि ती उपकरणमा रहेका डेटाका साथसाथै मेटाडेटा र डिजिटल सञ्चारका सन्देशबारे के कति जानकार हुन्छन ? ती कसरी असुरक्षित हुन सक्छन भन्ने जानकारी कम छ । पत्रकारको भौतिक र मनोसामाजिक सुरक्षाका लागि पनि डिजिटल सुरक्षा महत्वपूर्ण छ । पत्रकार अन्य पेसाकर्मीभन्दा डिजिटल सुरक्षामा बढी सचेत हुनु यसकारण पनि जरुरी छ किनकि पत्रकारको भौतिक र अन्य सबै प्रकारको सुरक्षा संसारभरमै एउटा ठूलो चुनौती हो ।

पत्रकारिताका लागि सूचना स्रोत र स्रोतको गोपनियता र सुरक्षा महत्वपूर्ण हुन्छ । पत्रकारका लागि समाचार बन्न सक्ने सूचना, डकुमेन्ट र डेटा मूल्यवान् हुन्छन् । ल्यापटप, कम्प्युटर, मोवाइल, पेन ड्राइभ र क्यामरा जस्ता डिजिटल उपकरण र पत्रकारले प्रयोग गर्ने सोसल मिडिया र इमेल अकाउन्टहरुमा एकदमै धेरै व्यक्तिगत डेटाका साथसाथै मेटाडेटा रहेको हुन्छ जसका कारण पत्रकारमाथि निगरानी राख्न वा पत्रकारबाट सूचना चाहनेहरुका लागि यी पहिलो लक्ष्य हुन जान्छ । अनि यी कुराहरु पर्दा पछाडि रहेर पनि सजिलै चोर्न, ह्याक गर्न वा बिगार्न सकिन्छ । डिजिटल सुरक्षाका सम्बन्धमा धेरैजस्तो अवस्थामा अन्य सुरक्षा खतराहरुमा जस्तो खतरा हुनसक्ने व्यक्ति वा समूहको सजिलै पहिचान हुन सक्दैन ।

डिजिटल उपकरण र इन्टरनेटका कुराहरु प्राविधिक र परिवर्तनशील छन् । जसले गर्दा डिजिटल सुरक्षा सामान्यतया सजिलो छैन । तर, पत्रकारका लागि डिजिटल सुरक्षाका उपायहरु गर्ने कि नगर्ने भन्ने प्रश्न बहस वा छनौटको विषय होइन । यो अनिवार्य आवश्यकता हो किनभने पत्रकारका रुपमा हामी सधै संवेदनशील समाचार र सूचना लिएर बसेका हुन्छौ । सधै कुनै न कुनै प्रकारको खतरामा हुन्छौ र आफ्नो र आफ्ना स्रोतहरुको गोपनियता र सुरक्षाका लागि जिम्मेवार हुन्छौ ।

डिजिटल असुरक्षाहरु

डिजिटल सुरक्षामा मूलतः निम्न कुराहरु पर्दछन ः  १. कम्प्युटर र ल्यापटपलाई भाइरस र त्यस्तै अन्य प्रोग्रामबाट सुरक्षा२. कम्प्युटर, ल्यापटप, पेन ड्राइभ र मोवाइलजस्ता उपकरणमा भएका डेटाहरुको सुरक्षा३. इन्टरनेट प्रयोग र गतिविधिका सूचनाहरुको गोपनियता ४. इमेल र सोसल मिडिया अकाउन्टहरुको सुरक्षा ५. इमेल, मेसेन्जर वा मोबाइल फोनबाट हुने संचार सन्देशहरुको सुरक्षा
कम्प्युटर वा ल्यापटपलाई भाइरस वा मालवेयर वा स्पाइवेयर भनिने अनावश्यक प्रोग्रामबाट मुक्त राख्न सकिएन भने डेटाहरु नष्ट हुने वा चोरिने सम्भावना रहन्छ । भाइरसले सामान्यतया कम्प्युटरलाई सुस्त बनाउने र डेटाहरुलाई नष्ट वा परिवर्तन गर्छन् भने मालवेयर र स्पाइवेयरहरुले कम्प्युटरबाट डेटा चोर्न सक्छन् । उदाहरणका लागि ‘किलगर’ भनिने प्रोग्रामले कम्प्युटरको किबोर्डमा थिचिएका प्रत्येक किको रेकर्ड राख्ने र निश्चित अन्तरालमा मोनिटरको फोटो राखेर इन्टरनेट जोडिएको बेला कुनै निश्चित इमेलमा पठाउन सक्छन् । किलगर कम्प्युटरमा छ कि छैन भनेर पत्ता लगाउन सजिलो छैन र यो कतै नदेखिने गरी लुकेर बस्ने गर्छ । किलगरको प्रयोगबाट कसैले तपाईका कम्प्युटरका गतिविधिमाथि निगरानी राख्न मात्रै होइन, तपाईका पासवर्डहरु पनि सजिलै चोर्न सकिन्छ । कम्युटर, ल्यापटप, पेन ड्राइभ र मोबाइलजस्ता उपकरणमा भएका डेटाहरु ती उपकरण भेट्दा सजिलै निकाल्न सकिन्छ । कम्प्युटर वा मोबाइलमा पासवर्ड राख्दैमा त्यसका हार्डडिस्कमा भएका डेटाहरु सुरक्षित हुँदैनन् । कसैले ती उपकरणबाट हार्डडिस्कहरु निकालेर अर्को कम्प्युटरमा सजिलै पेन ड्राइभजस्तै गरी प्रयोग गरेर त्यसमा भएका डेटाहरु हेर्नसक्छ ।

कम्प्युटर वा इन्टरनेट प्रयोग गर्दाका प्रत्येक गतिविधिहरु कतै न कतै रेकर्ड भइरहेका हुन्छन । कम्प्युटरका इन्टरनेट चलाउन प्रयोग गरिने ब्राउजरहरु जस्तै गुगल क्रोम वा मोजिला फायरफक्स वा सफारी वा इन्टरनेट एक्सपोलरले सामान्यतया तपाईले इन्टरनेट चलाउँदा क्लिक गरेका प्रत्येक लिङ्कहरु, त्यो हेरेका समयहरु सङ्ग्रहित गर्छ । तपाईले जीमेल पनि चलाइरहनु भएको छ भने ती गतिविधिहरु गुगलले समेत सङ्ग्रहित गरिरहेको हुन्छ । सामान्यतया तपाईले युजरनेम र पासवर्ड हालेर चलाउने प्रत्येक वेवसाइटहरु जस्तो फेसवुक वा युट्यूब वा समाचार साइटहरुले पनि तपाईको गतिविधिहरु सङ्ग्रहित गरेर राख्छन । भनिन्छ, इन्टरनेटका गतिविधि व्यक्तिगत नभइ सार्वजनिक गतिविधिहरु हुन जसले गर्दा इन्टरनेट गतिविधिहरुलाई पूर्णतया गोप्य राख्न सम्भव छैन । इमेल र सोसल मिडियामा त हाम्रा व्यक्तिगत डेटा झन बढी हुन्छन् । ती अकाउन्टहरुमा कसैले प्रवेश पायो भने हाम्रा सन्देश वा डेटा मात्रै होइन, हाम्रा गतिविधिहरु पनि थाहा पाउन सक्छ । सोसल मिडिया त झन सार्वजनिक स्थान जस्तै हो जसमा भएका कुनै पनि डेटाहरु कुनै न कुनै रुपमा सबैले प्राप्त गर्न सक्छन् ।

विकिलिक्सका संस्थापक जुलियन असाञ्जले सन् २०१२ मा रसियाली टेलिभिजनलाई दिएको अन्तर्वार्ताको क्रममा इन्टरनेट र मोवाइल फोनबाट हुन सक्ने असुरक्षा र निगरानीका बारेमा बोल्दा इन्टरनेटलाई ‘बेडरुममा राखिएको ट्याङ्क’ र मोबाइल फोनलाई ‘एउटा यस्तो ट्रयाकिङ उपकरण जसबाट फोन पनि गर्न मिल्छ’ भनेका थिए । मोबाइल फोन सेवा प्रदायक कम्पनीमा सामान्यतया कुनै पनि प्रयोगकर्ताको पछिल्लो ६ महिनाको गतिविधि रेकर्ड हुन्छ, जसमा प्रयोगकर्ताको स्थान स्थिति, फोन गरिएको नम्बर र कुरा गरिएको समय, इन्टरनेट जोडिएको अवस्था र एसएमएस आएको र पठाएको नम्बर र सन्देश पर्छन । नेपालमा सर्वोच्च अदालतको आदेशपछि प्रहरीले कल डिटेल र अन्य जानकारी जथाभावी माग्न नपाउने भए पनि ती डेटाहरुको सुरक्षा र गोपनियताको सम्बन्धमा नेपालमा कुनै कानुन नभएकोले त्यसको दुरुपयोग हुन सक्ने अवस्था छ । 

सुरक्षाका आधारभूत उपायहरु

डिजिटल सुरक्षाका उपायहरु छन् तर तिनलाई नियमित अभ्यास गर्न अभ्यस्त नभइन्जेलसम्म सजिला छैनन् । त्यसकालाई केही समय दिनुपर्ने र केही बानी सुधार्नुपर्ने हुन्छ, जुन हामीलाई समस्यामा नपरेसम्म झन्झट नै लाग्न सक्छ । डिजिटल सुरक्षाका आधारभूत उपायहरु यस प्रकार छन् । 

१. कम्प्युटर र ल्यापटपलाई भाइरसबाट सुरक्षित राख्ने

यसका लागि एन्टिभाइरस सफ्टवेयरहरु कम्प्युटरमा राख्ने, तिनलाई नियमित उपडेट गर्ने, बाहिरबाट आएका फाइलहरु (पेन ड्राइभ वा इमेलमार्फत) स्क्यान गर्ने र आवधिक रुपमा त्यसलाई कम्प्युटरका सबै फाइल स्क्यान गर्न लगाउने हो । एन्टिभाइरस औषधी जस्तै हो । नियमित अपडेट नगरे त्यसको मिति सकिन्छ र स्क्यान गर्नु भनेको औषधी सेवन गर्नु जस्तै हो । अभास्ट, एभीजी, बिटडिफेन्डर र अभिरा भनिने एन्टिभाइरसहरु निःशुल्क उपलब्ध छन र ती पैसा तिरेर किनिने एन्टिभाइरस जत्तिकै प्रभावकारी छन् । एउटै कम्प्युटरमा एकभन्दा बढी एन्टिभाइरस राख्नु भने हुँदैन ।

२. कम्प्युटर र ल्यापटपका डेटा सुरक्षित राख्ने

कम्प्युटर वा ल्यापटपका पासवर्ड नहाली भित्र जान नसकिने भए पनि तिनका हार्डडिस्क झिकेर अर्को कम्प्युरमा जोडने हो भने तिनका डेटामा सजिलै पहुँच बन्छ । त्यसकारण कम्प्युटरमा पासवर्ड राख्नु सुरक्षाका हिसाबले महत्वपूर्ण भए पनि त्यसले पूर्ण सुरक्षा दिन सक्दैन । हार्डडिस्कलाई कम्प्युटरबाट झिकेर चलाउन नमिल्ने बनाउनका लागि विन्डोज १० वा म्याकबुकका सेटिङमा गएर ‘फूल डिस्क इन्क्रिप्सन’ गर्न सकिन्छ । 

३. इमेल र सोसल मिडिया अकाउन्ट सुरक्षित राख्ने 

इमेल र सोसल मिडिया सुरक्षित राख्नका लागि पहिलो आवश्यकता अरुले थाहा नपाउने अक्षर, अङ्क र सङ्केत चिन्हहरु मिसिएको पासवर्ड राख्ने हो । पासवर्ड राख्दा नाम वा मोवाइल नम्बर वा जन्ममितिसँग जोडेर राख्नु राम्रो होइन । श्रीमान, श्रीमती वा छोराछोरीको नामसँग फोन नम्बर जोडेर पासवर्ड बनाउँदा सम्झन त सजिलो हुन्छ । तर, अरुका लागि अनुमान गर्न पनि सजिलो हुन्छ । पासवर्ड कसैलाई भन्नु हुँदैन । अहिले इमेल र सोसल मिडिया सबैमा गएर ‘टु स्टेप भेरिफिकेसन’ राख्न मिल्छ । जसले तपाईको अकाउन्टमा छिर्न पासवर्ड मात्रै भएर पुग्दैन, तपाईको मोवाइलमा आउने कोड नम्बर पनि चाहिन्छ । यो प्रयोग गर्नाले ती अकाउन्टहरु सुरक्षित हुने मात्रै होइन, कसैले आफ्नो पासवर्ड थाहा पाएर चलाउन खोज्यो भने थाहा पनि हुन्छ । 

४. इमेलमा वा सोसल मिडियाका लिङ्क र एट्याचमेन्ट खोल्दा सावधानी 

इमेल ठेगाना वा लिङ्क वा एट्याचमेन्ट सबै झुक्किने गरी बनाउन सकिन्छ त्यसले सावधानी आवश्यक छ । लिङ्कमा जे लेखिएको छ त्यही नहुन सक्छ । धधध।ालवलभउब।ियचन लाई जता जाने गरेर पनि लिङ्क बनाउन सकिन्छ । इमेलमा आएका एट्याचमेन्टहरु जतिसुकै विश्वासिलो व्यक्तिबाट आए पनि एन्टिभाइरसले स्क्यान नगरी नखोल्नुस् । इमेल वा सोसल मिडियामा कुनै लिङ्क खोल्दा फेरि पासवर्ड माग्यो भने कहिल्यै पासवर्ड नहाल्नुस् किनभने यो पासवर्ड चोर्ने सबैभन्दा प्रचलित र सजिलो माध्यम हो । 

५. इन्टरनेट प्रयोग गर्दा गोपनियतामा ध्यान दिने

तपार्ईले इन्टरनेटमा हेरेका प्रत्येक पेजहरु र थिचेका प्रत्येक लिङ्कहरुको ठेगाना ब्राउजरले राख्छ जुन सजिलै हेर्न सकिन्छ । जीमेल चलाइरहनु भएको छ भने त्यस्तो इतिहास गुगलले पनि राख्छ । तपार्ई सर्च गरेका शब्दहरु पनि सङ्ग्रहित हुन्छन् । गोपनियताका लागि आफ्नो कम्प्युटरमा समय समयमा मेट्नुस र अरुको वा धेरै व्यक्तिले चलाउने कम्प्युटर चलाइरहनु भएको छ भने कि काम सकिएपछि मेट्नुस वा ब्राउजरलाई प्राइभेट वा इनकग्निटो वा इनभिजिवल मोडमा चलाउनुहोस् । पासवर्ड सेभ गर्ने हो भनेर ब्राउजरले सोध्दा कहिल्यै हुन्छ नथिच्नुहोस् किनभने सेभ गरिएका पासवर्ड जो कसैले पनि हेर्न सक्छ ।

५. इन्टरनेट प्रयोग र इमेलमा सुरक्षा

यदि निगरानीबाट बच्न इन्टरनेट सुरक्षित रुपले प्रयोग गर्नुछ भने टोर ब्राउजर वा भीपीएन प्रयोग गर्नुपर्छ । ती प्रयोग गर्नुभयो भने तपार्ईको इन्टरनेट गतिविधि र कहाँबाट चलाइरहनु भएको छ भन्ने जानकारी गोप्य मात्रै होइन, सुरक्षित पनि हुन्छन । भीपीएनमार्फत हुने सबै डेटा प्रवाह कोडमा हुन्छ जसले गर्दा ती गोप्य, सुरक्षित र निगरानीको खतरामुक्त हुन्छन । तिनको प्रयोग गर्दा ब्लक गरिएका वेवसाइटहरु पनि हेर्न मिल्छ । सुरक्षित इमेल गर्नुछ भने इन्क्रिप्सन प्रयोग गर्नुपर्छ ।

६. मोबाइल फोनमा सावधानी

मोबाइल फोनमा डेटा मात्रै होइन, हाम्रा इमेल वा सोसल मिडियाहरु पनि सजिलो पहुँचमा हुने भएकाले मोबाइल फोनलाई अनिवार्य लक गर्नुपर्छ । लक गर्दा चार अङ्क वा प्याट्रन भन्दा पासवर्डले लक गर्दा सुरक्षित हुन्छ । फोनमा संवेदनशील सूचनाहरु छन् भने काम सकिएपछि मेट्नु नै ठीक हुन्छ । संवेदनशील रिपोर्टिङमा जाँदा फोन नबोक्ने कि भन्ने बारेमा पनि हामी पत्रकारहरुले सोच्नुपर्छ । एसएमएस भन्दा ह्वाट्सएप वा सिग्नल भन्ने एपहरुबाट सन्देश आदानप्रदान गर्दा सुरक्षित हुन्छ ।

७. सोसल मिडियामा शेयर गर्दा ध्यान दिनुपर्ने कुरा

इन्टरनेटमा राखिएका सबै कुरा स्थायी हुन्छन् । मेट्न सकिदैन । सोसल मिडिया प्राइभेट होइन, पब्लिक हो । सोसल मिडियामा तपाईका कुराहरु हेरेर कसले कसरी त्यसलाई प्रयोग गर्छ थाहा नहुने भएकोले सचेत हुनु जरुरी छ । फोटो भिडियो हाल्दा त्यसबाट अरुले के के जानकारी पाउन सक्छ भन्ने हेक्का राख्नुपर्दछ । सामान्यतया सोसल मिडियामा लेख्दा वा फोटो हाल्दा ती सँगसँगै तपाईको स्थानस्थिति पनि थाहा हुन्छ ।

प्रविधि दिनानुदिन बदलिँदो छ । त्यसको पूर्ण सुरक्षाका लागि नयाँ नयाँ उपायहरु पनि आइरहेका हुन्छन् ।  ती विषयमा जानकारी राखिरहनु र डिजिटल सुरक्षाप्रति सावधान हुँदा असुरक्षाबाट बच्न सकिन्छ । सेन्टर फर मिडिया असिस्टेन्सको एउटा प्रतिवेदन भन्छन् ‘डिजिटल संसारले पत्रकारिता पेसालाई झनै खतरानाक बनाएको छ । तर, यसले पत्रकारलाई सुरक्षित पनि राख्न सक्छ । डिजिटल प्रविधिले भौतिक, प्राविधिक वा मनोसामाजिक खतरा कम गर्ने अवसर पनि दिन्छ ।

(लेखक नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य तथा अन्तर्राष्ट्रिय पत्रकार महासंघका दक्षिण एसिया संयोजक हुनुहुन्छ) 

Loading...