‘मलाई हिरो बनाउन हेगको हल्ला चलाइदैछ, लगे म अझै हिरो भएर निस्कन्छु– प्रचण्ड

काठमाडौं, १३ साउन । जनयुद्धमा १४ हजारभन्दा बढी मान्छेको मृत्यु हुनुमा प्रचण्ड जिम्मेवार भएको भन्दै उनलाई अन्तराष्ट्रिय अदालतमा लग्नुपर्ने कुरा उठिरहेका बेला प्रचण्डले भने त्यसको प्रतिवाद गरेका छन् ।

अन्य पार्टी छाडेर आएका केही कार्यकर्ताहरुलाई प्रचण्ड अध्यक्ष रहेको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा स्वागत गर्दै उनले आफूलाई अन्तराष्ट्रिय अदालतमा लगे त्यसले झनै स्थापित बनाउने दावी गरे । अन्तराष्ट्रिय फौजदारी अदालतको मुख्यालय नेदरल्याण्डको हेगमा रहेको छ । त्यसैले धेरैले त्यसलाई हेगमात्र भनेर भन्ने गर्दछन् ।

सोमबार पचण्डले नयाँ कार्यकर्तालाई स्वागत गर्ने क्रममा हेगले आफूलाई झनै हिरो बनाउने बताए । हेगमा पुर्‍याइमा आफूबारे संसारका सबै जनताले बुझ्न पाउने दावी उनको थियो । ‘उनले भने, मलाई हेगमा पु¥याए भने त संसारका जनताले यो त न्याय र शान्तिका पक्षमा रहेछ भनेर बुझ्न पाउँछन्।’

यसअघि बहिगर्मित जनमुक्ति सेनाहरुको एक संगठनले काठमाडौंको भृकुटीमण्डपमा पत्रकार सम्मेलन नै गरेर प्रचण्ड र बाबुराम भट्टराईलाई हेग लैजाने कुरा गरेका थिए । उनीहरुले प्रचण्ड बाबुरामकै कारण नेपालमा यति ठूलो संख्यामा मानिसहरुको ज्यान गएको उनीहरुले दावी गरेका थिए ।

त्यही कुरातर्फ लक्षित गर्दै सोमवार प्रचण्डले भने, “केही व्यक्तिहरुलाई शान्ति प्रक्रिया, गणतन्त्र, समावेशिता मन नपरेको छैन । उनीहरु यसको नेतृत्व गर्नेलाई सिध्याउन पाइयो भने यो व्यवस्था नै उल्टाउन पाइन्थ्यो कि भनेर षड्यन्त्रमा लागिरहेका छन् । तर, ती कुनै पनि षडयन्त्र सफल हुने छैनन ।”

प्रचण्डले भने, ‘परिवर्तन विरोधी तत्वले प्रचण्डलाई हेगमा लैजाने र एक दिन भए पनि जेलमा हाल्ने षड्यन्त्र बुनेका छन् । हेग लगे भने त म झन् विश्वकै हिरो भएर निक्लिन्छु, तर यिनीहरुले मलाई हिरो बनाउन हेग लैजान्छन् जस्तो लाग्दैन।’

सो क्रममा प्रचण्डले अन्ततः विप्लव पनि आफैसँग आउने दावी गरे । विप्लव नेतृत्वको नेकपा छोडेर प्रचण्डसँग टिका लगाउन गएका रमन घिमिरेलाई उनले स्वागत गर्दै त्यस्तो दावी गरे । उनले धेरै साथीहरु फर्किरहेको पनि बताए । विप्लवले लिएको लाईनबाट परिवर्तन सम्भव नभएको ठोकुवा गर्दै प्रचण्डले विप्लव अन्ततः यही बाटोमा आउनुपर्ने दावी गरे।

Loading...