चिउरीखोला दोभानमा थुनिएका २७ को उद्धार । रामपुर-उदयपुर बस्ती पूरै डुबानमा

कञ्चनपुर, २० साउन । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ चिउरी खोलाको दोभानमा थुनिएका २७ जनाको गएराति अबेर उद्धार गरिएको छ। गोठाला गएकाहरु निरन्तरको वर्षाका कारण खोलामा पानीको बहाव उच्च भएपछि थुनिएका थिए।

वडाध्यक्ष जगतबहादुर सिंह, जेपी स्पोर्टस् क्लबका पदाधिकारी र सशस्त्र प्रहरी सहितको टोलीले थुनिएकाको चार घण्टाको अथक प्रयासपछि सकुशल उद्धार गरेको जेपी स्पोर्टस् क्लबका अध्यक्ष दीपक भट्टले बताए। खोलाको दोभानमा थुनिएका गोठालाले घरमा फोनमार्फत जानकारी दिएपछि वडाध्यक्ष सहितको टोली उद्धारका लागि पुगेको थियो।

घरकटुवा खोलाले काठे पुल बगायो

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ स्थित घर कटुवा खोलामा स्थानीय बासिन्दाले साताअघि बनाएको काठे पुल घर कटुवा खोलाले बगाएको छ। खोलामा गएराति आएको बाढीले पुल बगाएको इलाका प्रहरी कार्यालय, झलारीका प्रहरी निरीक्षक टेक जोराले जानकारी दिए। पुल बगेपछि नौखरी सिसैयाका बासिन्दाले खोला तर्न सास्ती खेप्नु परेको छ।

बस्ती डुबानमा

कञ्चनपुरको बेलौरी नगरपालिकाअन्तर्गत पर्ने रामपुर उदयपुर बस्ती दोदा नदीमा आएको बाढीका कारण डुबानमा परेको छ । बस्तीमा बाढीको पानी पसेको खबर पाइएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली त्यसतर्फ गएको छ। कति घर डुबानमा परेको भन्ने बारे जानकारी प्राप्त हुन सकेको छैन।

Loading...