विद्यालयको प्राङ्गणमै एकाएक ४ बालकको मृत्यु, विद्यालयमा त्रास

काठमाडौं । दार्चुलाको एक विद्यालयमा प्राङ्गनमा एकैसाथ चार जना बालबालिकाकाे मृत्यु भएकाे छ । जिल्लाकाे नौगढ गाउँपालिका वार्ड नं ४ मा रहेकाे गणेश विनायक माध्यमिक विद्यालयको प्राङ्गणमै ४ बालबालिकाको मृत्यु भएको हाे।

जिल्ला प्रहरी कार्यालय दार्जुलाका अनुसार विद्यालयकाे ग्राउन्डमा रहेको शौचालयको सेफ्टीट्यांकी भासिँदा चार विद्यार्थीको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक दीपेन्द्र शाहीले उक्त विद्यालयमा दिउसाे करिब चार बजे सेफ्टीट्यांकीमाथि खेलिरहेका बेला ट्यांकी भासिएको र साे घटना हुन पुगेकाे बताए ।

मृत्यु हुनेमा कक्षा २ मा पढ्ने ८ वर्षकी निरुता ठगुन्ना, कक्षा २ मै पढ्ने ८ वर्षकी अनिसा धामी, कक्षा १ मा पढ्ने ६ वर्षका सुधीर धामी र बाल कक्षामा पढ्ने वर्ष ५ की युनिका ठगुन्ना छन्।

अपरान्ह ४ बजेतिर खेल्दै विद्यालय पुगेका उनीहरु पुरानो शौचालयको खाल्डोमा खसेका थिए। अभिभावकले छोराछोरी घर नआएपछि खोज्ने क्रममा खाल्डोमा खसेको अवस्थामा भेटेका थिए। विद्यालयका शिक्षक जगतसिंह चैसिरले खाल्डोमा खसेका चारै जना विद्यार्थीको शव खाल्डो बाहिर निकालिएको बताए।

‘पुरानो शौचालयको खाल्डोमा बालबालिका परेछन्। खाल्डोमा पानी थिएन तर निस्सासिएर उनीहरुको मृत्यु भयो,’ उनले भने, ‘खाल्डो छोप्ने सिमेन्टको ढक्कन थियो त्यो पनि खाल्डोमा खसेछ।’

सो घटनामा अन्य केही बालबालिका परेको र घाइते भएको जानकारी आएको छ। तर, यसबारे औपचारिक जानकारी नआएको शाहीले बताए। ‘फोन सम्पर्क हुन सकेको छैन, उद्धार कार्य भइरहेको छ, घटनामा के कति मानवीय क्षति भएको भन्ने पूरा विवरण प्राप्त भइसकेको छैन,’ शाहीले भने।

उनका अनुसार स्कुलको कम्पाउन्डमै रहेको शाैचालयको सेफ्टीट्यांकी जीर्ण थियो।

Loading...