केपी ओली र माधव नेपालबीच बाझाबाझ, प्रचण्डले नेपाललाई साथ दिएपछि ओली अल्पमतमा

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीमा पूर्व एमालेका दुई शीर्ष नेताहरुको विवाद पुनः चर्किएको छ । दुई अध्यक्ष रहेको पार्टीका एक अध्यक्ष केपी शर्मा ओली र अर्का बरिष्ठ नेता माधवकुमार नेपालबीचको विवाद पुनः सुरु भएको हो ।

ओली र नेपालबीचको विवाद चुलिएपछि पार्टीको सचिवालयको पछिल्लो बैठक नै अवरुद्ध भएको छ । केन्द्रीय सदस्यहरुको कार्यविभाजन गर्ने भनेर बसेको सत्तारुढ दल नेकपाको सचिवालयको बैठक ओली र नेपालबीच बाझाबाझ भएका कारण स्थगित भएको छ ।

ओली र नेपालबीच बाझाबाझ भएको उक्त बैठकमा अर्का अध्यक्ष प्रचण्ड, नेताहरु झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल, विष्णु पौडेल र रामबहादुर थापा बादल सहभागी रहेका थिए । नेकपाका एक केन्द्रीय सदस्यका अनुसार उक्त बैठकमा ओलीका पक्षमा ईश्वर पोखरेल, विष्णु पौडेल उभिएका थिए भने नेता नेपालका पक्षमा अर्का अध्यक्ष प्रचण्ड, नेताहरु झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ उभिएका थिए । नेता रामबहादुर थापा बादल भने बैठक अवधिभर मौन बसेको स्रोतले जानकारी दियो ।

यस बैठकबाट केन्द्रीय सदस्यहरुको जिम्मेवारी तोकेर जिल्लाका ईञ्चार्ज र सहईञ्चार्ज बनाउने भनिएको थियो । बैठक बुधवार १२ बजे पुन बस्ने बताइएको छ ।

प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले मन्त्री र सांसद बनेकाहरुलाई पनि जिल्ला ईञ्चार्ज र सहईञ्चार्जको जिम्मेवारी दिने भनेपछि बरिष्ठ नेता माधव नेपालले त्यस्तो दोहोरो जिम्मेवारी दिन नहुने भन्दै त्यसको विरोध गरेका थिए।

माधव नेपालको विरोधलाई पछार्न ओलीले यसअघि सांसद रहेकाहरुलाई जिल्लादेखि केन्द्रसम्म नै अध्यक्ष र सचिवको जिम्मेवारी दिइ सकिएको उदाहरण दिए । त्यसैले यसमा पनि त्यही मापदण्डका आधारमा ईञ्चार्ज र सहईञ्चार्जको जिम्मेवारी दिन सकिने ओलीले तर्क गरे ।

ओलीले यसरी कडा तर्क गरिरहँदा यता माधव नेपाल भने बोल्न खोजिरहेका थिए । ओली बोल्दा बोल्दै बीचैमा नेता नेपालले त्यस्तो तर्क गरेर नहुने बताए । उनले यसअघि (तत्कालीन एमाले र माओवादी केन्द्रमा) अध्यक्षको जिम्मेवारी पाएकाहरुलाई अहिले बनेको नेकपामा पनि सोही जिम्मेवारी दिइएको बताए । बरिष्ठ नेता नेपालले लामो समयसम्म जिल्ला नेतृत्व चुनिन नसकेपछि पुराना अध्यक्षलाई नै अध्यक्ष र सचिव बनाएर जिल्ला कमिटीको एकता गरिएको भन्दै यही मान्यता जिल्ला ईञ्चार्ज र सहईञ्चार्जको हकमा पनि लागू हुन नसक्ने दावी गरे । नेता नेपालले यसरी अझ कडा बन्न थालेपछि अध्यक्ष ओली अलि मत्थर भए । बैठकमा दुबै नेताहरु आआफ्नो तर्कमा अझै जोड गरिरहेपछि बैठक बुधवारका लागि स्थगित भएको थियो ।

सचिवालयको बैठकमा अरु नेताहरुले दुबैतिरबाट साथ दिन थालेका थिए । तर, गृहमन्त्री समेत रहेका नेता रामबहादुर थापा बादल भने मौन बसे । पछिल्लो समय थापा ओली क्याम्पमा छिरेको बताइन्छ । उनले यो बैठकमा पनि अध्यक्ष प्रचण्डले साथ दिएको माधव नेपाललाई समूहलाई साथ दिएनन । यद्यपि उनले ओलीका पक्षमा पनि खुलेर बोलेनन ।

बरु बैठकमा अध्यक्ष प्रचण्डले भने प्रष्ट रुपमा माधव नेपाललाई साथ दिए । उनले ओलीको कुराको खण्डन र नेपालको तर्कमा समर्थन गर्दै मन्त्री र सांसद भएकाहरुलाई नीति नै बनाएर ईन्चार्ज र सहईन्चार्जको जिम्मेवारी दिन नहुने तर्क गरे । उनले केही अपवादको रुपमा बनाउन पनि सकिने बताए । प्रचण्डको यो भनाईलाई झलनाथ खनाल, नारायणकाजी श्रेष्ठले पनि समर्थन गरे ।

उता ओलीको तर्कलाई रक्षामन्त्री समेत रहेका ईश्वर पोखरेल र पार्टीका महासचिव विष्णु पौडेलले समर्थन गरे । यसरी सत्तारुढ दल नेकपाको सचिवालयको बैठक विवादकैबीच स्थगित भयो ।

Loading...