लोकसेवाका आयुक्तहरुमाथि मुख्यमन्त्री राउतको गम्भीर आरोप, लोकसेवा पैसा खान पल्केका बेइमान र फटाहाको केन्द्र

धनुषा । लोकसेवा आयोगका आयुक्तहरुमाथि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले गम्भीर आरोप लगाएका छन् । आयोगका आयुक्तलाई ‘बेइमान र फटाहा’ मात्र भएको दावी गर्दै मुख्यमन्त्री राउतले उनीहरु पैसा कमाउनका लागि मात्र बसेको आरोप पनि लगाएका छन् ।

मुख्यमन्त्री राउतले यस्तो आरोप सार्वजनिक मञ्चबाटै लगाएका हुन् । जनकपुरमा आयोजित प्रदेशस्तरीय दलित अगुवाहरुको भेलामा बोल्दै मुख्यमन्त्री राउतले आयोगले मधेसी, दलित लगायतका समुदायको कोटा कटौती गरेको बताए । उनले आक्रोसित हुँदै भने, ‘आयुक्तहरु पैसा कमाउन र एक विशेष जातिलाई भर्ना गर्न मात्र बसेका छन् ।’

राउतले आफ्नो प्रदेशमा आफूले खस आर्यलाई आरक्षण दिएको दावी पनि गरेका छन् । खस आर्यलाई जनसंख्याका आधारमा आरक्षण दिएको उल्लेख गर्दै मुख्यमन्त्री राउतले संघमा बसेकाहरू भने अझै विभेदकारी रहेको आरोप लगाए ।

संघीय संरचनामा रहनेहरुले मधेसी, मुस्लिम, दलितसहितका वर्गसँग विभेद गरिरहेको आरोप लगाउँदै राउतले यो संविधान विरोधी काम भएको पनि बताए ।

मुख्यमन्त्री राउतले प्रदेश २ मा १८ प्रतिशत जनसंख्या दलितको रहेको र १८ प्रतिशत नै आरक्षण दिने व्यवस्था गर्न लागेको जानकारी गराए । उनले महिलालाई ५० प्रतिशत आरक्षण दिएर प्रदेशमा हरेक खालको विभद अन्त्य गर्न चाहेको बताए।

सदनमा छलफलका क्रममा रहेको दलित सशक्तिकरण ऐन विश्वकै नमूना रहेको उनले दावीसमेत गरेका छन् । उनले भने, ‘ऐन पारित भएपछि दलितहरुको स्वास्थ्य, शिक्षाको ग्यारेन्टी प्रदेश सरकारले गर्छ ।’ दलितसँग भइरहेको विभेद अन्त्य नभएसम्म प्रदेश समृद्ध नहुने समेत उनले जिकिर गरे।

मुख्यमन्त्री राउतले अधिकार प्राप्तिका लागि दलितहरू आफै सशक्त हुनुपर्ने धारणा राखे। अन्य प्रदेशमा जे–जस्तो भएपनि प्रदेश २ मा हरेक समुदायलाई अधिकार सम्पन्न बनाएर छाड्ने उनले बताए । उनले अधिकारका लागि आवश्यक परे सडकसंघर्ष गर्नसमेत गर्न तयार रहनुपर्ने भन्दै उनले भने, ‘म रहे÷नरहे पनि दलितलाई अधिकार सम्पन्न बनाएर जान्छु ।’

Loading...