७८ यात्रुसहित उडिरहेको विमानमा एकाएक आगो लागेपछि फोर्स ल्याण्डिङ गराउँदा ४१ को मृत्यु

काठमाठौं, २३ वैशाख । उडिरहेको विमानमा एकाएक आगलागी भएपछि फोर्स ल्याण्डिङ गराइएको छ । सो क्रममा ४१ जनाको मृत्यु भएको छ । यो घटना रुसको राजधानी मस्कोमा भएको हो । मस्कोको शेरेमेत्यवो हवाई अड्डाबाट मरमास्क जाँदै गरेको एयरोफ्लोट कम्पनीको सुपरजेट १०० विमानमा आगलागी भएको हो ।

विमानमा कुल ७८ यात्रु र चालक दलका ५ सदस्य पनि थिए । विमान उडेको केहीबेरमै प्राविधिक समस्या देखिएपछि विमानलाई फर्काएर आकस्मिक अवतरण गराइएको थियो । अवतरण गर्दागर्दै विमानको इन्जिनमा आगो लागेको थियो ।

जहाज अवतरण गरिरहेको बेला पछाडिको भागमा आगो दन्ककेको र कालो धुवाँको मुस्लो उडेको देखिएको थियो । अवतरण भइसकेपछि आपतकालीनद्वारबाट यात्रुहरुको उद्धार गरिएको थियो ।

रुसको सरकारी विमान कम्पनी एयरोफ्लोटले प्राविधिक गडबडीका कारण विमानलाई फोर्स ल्याण्डिङ गराइएको जनाएको छ । तर, प्राविधिक गडबडीको बारेमा भने विस्तृतमा बताइएको छैन । दुर्घटनाको कारणबारे जाँच सुरु गरिएको बीबीसीले जनाएको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले दुर्घटनामा मृत्यु भएकाका परिवारजनप्रति समवेदना व्यक्त गरेका छन् । रुसको सरकारी कम्पनी एयरोफ्लोटले आफ्नो वेबसाइटमा दुर्घटनामा जीवित व्यक्तिहरुको नामावली प्रकाशित गरेको छ । सूचीमा ३३ जनाको नाम छ । कम्पनीले आपतकालीन टेलिफोन नम्बर पनि जारी गरेको छ । कम्पनीले घाइतेहरुका परिवारलाई निःशुल्क मस्को पुर्‍याइने जानकारी पनि दिएको छ ।

मिडिया रिपोर्टसहरुका अनुसार विमानको पहिलो आपतकालीन ल्याण्डिङ सफल हुन सकेन । ट्राकिङ वेबसाइड फ्लाइट राडार २४ मा उडेको करिब आधा घण्टामै विमानले आकस्मिक अवतरण गर्न कोशिस गरेको देखिन्छ ।

Loading...