विदाका दिन सरकारी गाडी दुरुपयोग गर्ने ६३ जनामाथि यस्तो कारवाही

काठमाडौं, २६ फागुन । सार्वजनिक विदाको दिन सरकारी गाडी चलाउने ६३ जनामाथि कारवाही गरिएको छ । ट्राफिक प्रहरी महाशाखाले नारी दिवस र शनिवारको सार्वजनिक विदामा काठमाडौं उपत्यकामा नियम विपरित सरकारी गाडी चलाएकोले उनीहरुमाथि कारवाही गरेको जनाएको छ ।

शुक्रबार र शनिबार बिनापास विभिन्न सरकारी कार्यालय तथा संस्थानका गाडी चलाउनेलाई कारबाही गरिएको काठमाडौं महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

ट्राफिक प्रहरी महाशाखाका प्रमुख बसन्त पन्तले ननस्टपखबरसँग कुराकानी गर्दै शुक्रबार नारीदिवसको दिन १७ गाडी, शनिबार ३४ गाडी कारवाहीमा परेको जानकारी दिए ।

महाशाखाका प्रमुख पन्तले काठमाडौं, ललितपुर र भक्तपुर गरी यतिको संख्यामा कारबाही गरिएको जानकारी दिए । त्यसरी समातिएका गाडी दिनभर राखेर साँझ ५ बजेसम्म होल्ड गरिएको उनले बताए। ट्राफिक प्रहरी महाशाखाले यो कारवाही पछिल्लो समयमा गरिएको सबैभन्दा बढी संख्याको कारवाही भएको जनाएको छ । सार्वजनिक बिदाका दिन जरुरी काम परे सम्बन्धित जिल्ला प्रशासन कार्यालयसँग अनुमति लिएर मात्र सरकारी गाडी चलाउन पाउने व्यवस्था छ । अन्यथा सरकारी गाडी सार्वजनिक विदाका दिन चलाउन पाइदैन । सार्वजनिक बिदाका दिन सरकारी गाडी दुरुपयोग नहोस् भनेर ट्राफिक प्रहरीले यस्तो कारबाही गर्ने गरेको महाशाखाले जनाएको छ ।

Loading...