रहस्यमय ३३ किलो सुन प्रकरणका मुख्य अभियुक्त भुजुङ गुरूङ पनि पठाइए जेलमा

काठमाडौं । तस्करीको ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणमा मोरङ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएका मुख्य अभियुक्त भुजुङ गुरूङलाई विराटनगर उच्च अदालतले पनि थुनामै पठाएको छ।

गुरूङले जिल्लाको आदेशविरूद्ध ६ महिनाअघि उच्च अदालतमा निवेदन दिएका थिए। गुरूङसहित सुनकाण्डका १२ जनाको मुद्दा पनि उच्चले सँगै राखेर हेरेको थियो।

कायममुकायम मुख्यन्यायाधीश शिवराज अधिकारी र न्यायाधीश लेखनाथ घिमिरेको इजलासले विहिबार इम्तियाज उद्दिन र शैयद अकवरलाई भने १०/१० लाख धरौटीमा छोडेको छ। गुरूङसहित १० जनालाई थुनामा पठाएको छ।

यसअघि यो प्रकरणका अन्य अभियुक्तहरूको फरक-फरक इजलास सुनुवाइ भएको थियो। ती इजलासबाट कतिपयलाई धरौटी घटाएको र कतिपयलाई तारेखमा छोडेको भन्दै न्यायपरिषदले मुख्यन्यायाधीश कुलरत्न भुर्तेलसहित ६ न्यायाधीशलाई परिषदमा तानेको थियो। न्यायाधीश परिषदमा तानिनु कारबाही सरह हो। परिषद्को यो कदमपछि उच्च अदालत विराटनगरले बाँकी सबै १२ जनाको मुद्दामा एउटै इजलास तोकेको हो।

मुख्य अभियुक्त गुरूङ, अभियुक्तहरू दोराम खत्री, वीरेन्द्रमान श्रेष्ठ, राजु महर्जन, कपिलराज पुरी, रामहरी सुवेदी, फाल्दुङ फुल्टुङ भन्ने लक्षु गुरूङ, रेवतकुमार आचार्य, शैयद अकवर, बेनु श्रेष्ठ, इम्तियाज उद्दिन, डेभिट भन्ने छिरिङ घलेको मुद्दामा एकैसाथ सुनुवाइ भैरहेको थियो।

भुजुङ गुरूङको मुद्दा यसअघि ३४ पटक सरेको थियो। सरकारी वकिलले मात्रै उनको मुद्दा ८ पटक स्थगित गरेको देखिन्छ।

तस्करीको ३३ सुन बेपत्ता भएपछि गत फागुन १८ गते सनम शाक्यको हत्या भएको थियो। त्यसपछि गृह मन्त्रालयले गरेको अनुसन्धानले त्रिभुवन विमानस्थल हुँदै झन्डै ३८ क्विन्टल सुन तस्करी भएको देखाएको थियो।

Loading...