माल्दिभ्सका पूर्व राष्ट्रपति गयूमलाई भ्रष्टाचारको अभियोग

एजेन्सी । माल्दिभ्सका पूर्वराष्ट्रपति अब्दुल्लाह यमिन अब्दुल गयूमलाई अनियमितातको अभियोग लगाइएको छ ।

उनलाई माल्दिभ्सको प्रहरीले आर्थिक अपचलनसम्बन्धी अभियोग लगाएको अधिकारीहरूले बुधबार जानकारी दिएका छन् ।

माल्दिभ्स लोकतान्त्रिक पार्टीका हमिद अब्दुल घाफुरले ट्वीट गर्दै गयूमलाई चोरी, घुस र आर्थिक अपचलनसम्बन्धी ठूलो अभियोग लगाइएको उल्लेख गरेका छन् ।

स्थानीय सञ्चारमाध्यमहरूका अनुसार माल्दिभ्सको प्रहरीले महान्याधिवक्ताको कार्यालय मार्फत उनीविरुद्धको मुद्दा दर्ता गरेको हो ।

मुद्दा दर्ता भएपछि प्रहरीले पूर्वराष्ट्रपति गयूमविरुद्धमा अनुसन्धान शुरु गर्न लागेको स्रोतलाई उद्धृत गर्दै समाचारमा जनाइएको छ ।

अनुसन्धान अधिकारीहरूले उनीविरुद्धका विवरण प्रहरी कार्यालयमा दर्ता गराइरहेका छन् । उनी राष्ट्रपति भएको बेलामा भएका अनियमिततासम्बन्धी विवरणहरू विभिन्न तरिकाबाट सङ्कलन भइरहेको अधिकारीहरूले बताएका छन् ।

नयाँ राष्ट्रपति इब्राहिम सोलिह नेतृत्वको सरकारले गत महिना एक वक्तव्य जारी गर्दै पूर्वराष्ट्रपति यमिनको कार्यकालमा भएका अनियमितता वा राज्य शक्तिको दुरूपयोगसम्बन्धी कुनै विवरण वा प्रमाणहरू भएमा उपलब्ध गराउन आह्वान गरेको थियो ।

यमिनले वा यमिनको मन्त्रिपरिषद्का सदस्यमध्ये जोसुकैका बारेमा पनि विवरणहरू दिन वक्तव्यमा आग्रह गरिएको थियो ।

वक्तव्यमार्फत गरिएको आह्वाननुसार प्राप्त अनियमिततासम्बन्धी केही विवरणहरू राष्ट्रपतिको कार्यालयले गत जनवरीको सुरुआती दिनमै सार्वजनिक गरेको थियो ।

गत सेप्टेम्बर २३ मा भएको निर्वाचनबाट सोलिह राष्ट्रपतिमा निर्वाचित भएका हुन । अहिले भ्रष्टाचारको अभियोग लागेका पूर्वराष्ट्रपति यमिनले भने निर्वाचनमा धाँधली भएको भन्दै शुरुमा मतपरिणाम अस्वीकार गरेका थिए । तर अदालतको फैसलापछि मात्रै उनले आफ्नो पराजयलाई स्वीकार गर्दै राष्ट्रपतिको पद हस्तान्तरण गरेका थिए ।

यमीनले यसअघि सन् २०१३ मा सोही अदालतमा आफ्नो पदीय प्रभाव पार्दै प्रतिपक्षी उम्मेदवारको मतभन्दा सामान्य बहुमत पुष्टि गर्दै निर्वाचन परिणाम आफ्नो पक्षमा ल्याएको दाबी छ । त्यसपछि आफ्नो विरोधमा उभिने सशक्त प्रतिपक्षीलाई जेल पठाउने र देश निकाला गर्नेजस्ता निर्णय लिँदै कडा शासकका रूपमा प्रस्तुत भएका थिए ।

सानो एशियाली मुलुक माल्दिभ्समा पछिल्लो समय प्रतिशोधको राजनीति हावी भएको देखिएको छ ।

Loading...