कर्णाली नदीमा ‘रिभर गाइड’ तालीम सुरु

काठमाडौँ, २३ माघ । कर्णाली नदीमा ‘रिभर गाइड’ तालीम सुरु भएको छ । साहसिक जलयात्रा गर्नका लागि नेपाल एशोसिएसन अफ ¥याफ्टिङ (नारा)ले यस्तो तालिम सुरु गरेको हो ।

नाराको आयोजना तथा नेपाल पर्यटन बोर्डको प्रवर्धनात्मक सहकार्यमा मङ्गलबारदेखि सञ्चालन गरिएको तालिम तीन दिनसम्म चल्ने बताइएको छ । नेपालको पर्यटन उद्योगको एउटा महत्वपूर्ण विधाको रूपमा स्थापित साहसिक जलयात्रा व्यवसायलाई आवश्यक दक्ष रिभर गाइड सबै प्रदेशमा उत्पादन गर्ने उद्देश्यले उक्त तालीमको आयोजना गरिएको नाराका महासचिव शिव अधिकारीले जानकारी दिए ।

त्रिशुली, भोटेकोशी, कर्णाली, कोशी र नारायणी साहसिक जलयात्राका लागि महत्वपूर्ण नदीका रूपमा मानिन्छन् । पर्यटन वर्ष सन् २०२० मा २० लाख पर्यटक भित्र्याउन उक्त अभियानले सहयोग पुग्नेछ । दक्ष रिभर गाइड उत्पादनका लागि प्रत्येक प्रदेशमा जलयात्रा तालीम सञ्चालन गर्न लागिएको नाराका कोषाध्यक्ष शिशिर खनालले बताए । निःशुल्क रूपमा प्रदान गरिने सो तालीमले बेरोजगार युवालाई पर्यटन उद्योगमा आवद्ध हुन सहयोग पुग्ने विश्वास नाराको छ ।

Loading...