काठमाडाैं । महेन्द्रबहादुर शाही माओबादीहरुको लागि नयाँ नाम होइन । जनयुद्दकालका एक सफल कमाण्डर रहेका शाही कालिकोटबाट जननिर्वाचित सांसद हुन् ।
बहुचर्चित तत्कालिन अख्तियार प्रमुख लोकमान सिंह कार्कीलाई रातारात छापामार शैलीमा संसदमा महाअभियोग प्रस्ताव दर्ता गराएर रास्ट्रिय राजनीतिमा स्थापित बनेका शाही यतिबेला नेकपा (माओबादी केन्द्र ) को तर्फबाट उर्जा मन्त्रालयको नेतृत्व सम्हाल्न सफल भएका छन् । उनलाई पार्टी भित्रका प्रभावशाली नेता नारायण काजी श्रेष्ठले मन्त्रीमा प्रस्ताव गरेका हुन् ।
मन्त्री बन्नु मुख्य कुरा होइन किनभने कतिपय नेताहरु मन्त्री भएर पनि गुमनाम भएका वा बदनाम भएका देखिदै भोगिदै आइएको कुरा हो । मुख्य कुरा त् मन्त्री भएर देश र जनताको पक्षमा कति काम भए भन्ने बाट नै मन्त्रीहरुको योग्यता मापन हुने कुरा हो । त्यसका लागि शाहीले आफुलाई कसरी प्रस्तुत गर्छन त्यसले नै उनको आगामी राजनीतिक उडान निर्धारण गर्ने कुरालाइ नकार्न सकिदैन ।
उर्जा मन्त्रालय भन्ने बित्तिकै यतिबेला जादुले छु मन्तर गरे झैँ गायब भएको चर्को लोडसेडिंगको सम्झना आउछ र सबैले एकसाथ सम्झन्छन मन्त्री जनार्दन शर्मा र उनले नियुक्त गरेका बिद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङ्ग । एउटा मिठो सपना झैँ एकाएक अध्यारो बाट उज्यालो तर्फ ल्याउने यी दुइ हस्ती नेपालको उर्जा इतिहासमै एक स्वर्णिम युगका सम्बाहक बनेका छन र अहिलेका मन्त्री शाही लाइ आम मानिसहरु जनार्दन शर्माकै रुपमा देख्न चाहन्छन ।
प्रचण्ड नेतृत्वको सरकारका सफल उर्जा मन्त्री जनार्दन शर्माको सफलताले नयाँ नेतृत्वलाई मार्गदर्शन जति गरेकोछ त्यति नै चुनौती पनि दिएको छ । नेपाली जनताहरु अब अध्यारोको अ ‘ पनि देख्न चाहदैनन् , यसर्थ नेतृत्व उज्यालो बाड्न सकेन भने असफलताको कलंक लगाउन तयार रहनुपर्दछ ।
पूर्व सहमति बमोजिम मन्त्रालय साटफेर गरेका सत्ता गठबन्धन दल नेपाली कांग्रेस र माओबादी केन्द्रले उर्जा मन्त्रालय साटफेर गरेन । वास्तबमा नेपाली कांग्रेसको तर्फबाट उर्जा मन्त्रालय लिन नेताहरुले आट नै नगरेको श्रोतको दावी छ । जनार्दन शर्माक जनपक्षीय काममा निरन्तरता दिन नसके बिजुलीको एक झट्कामै राजनीतिक करिअर समाप्त हुने डरले न त् कांग्रेस नेतृत्वले नै उर्जा दिन चाह्यो न त् मन्त्रीका आकांक्षी कांग्रेस नेताहरुले नै उर्जा लिन चाहे ।
आकर्षक मानिएको उर्जा मन्त्रालयको त्याग कांगेसले काम गर्न सकिदैन कि भन्ने आशंकाले नै गरेको देखिन्छ । यस्तोमा माओबादी केन्द्रले उर्जामा अघि सारेका शाहीका लागि यो काम गर्ने अवसर मात्र होइन अग्नि परीक्षा हो भन्दा अतियुक्ति हुदैन ।
तत्कालिन माओबादी जनयुद्दमा जनार्दनको कमाण्डमा दर्जनौ लड़ाई लडेका शाहीले आफु उर्जामा उनकै पदचाप पछ्याउदै अघि बढ्ने उद्घोष गरिसकेका छन । बुधवार मात्र सपथ ग्रहण गरेर मन्त्रालय पुगेका उनले कर्मचारीहरुलाई फौजी शैलीमा कमाण्ड गर्दै निर्धक्क भएर काम गर्न निर्देशन समेत दिइसकेका छन । त्यति मात्र होइन जनताको पक्षमा काम गर्दा कसैले जेल हाल्ने वा मार्ने धम्कि दिन्छ भने पनि नडराउन निर्देस गर्दै उनले राम्रो काम गर्नेहरुलाइ बचाउन आफु उभिने र सबै कामको जिम्मेवारी आफूले लिने भन्दै आत्मबलसमेत प्रदान गरेका छन । यस्लाई उर्जामन्त्री शाहीको सकारात्मक उर्जा मान्न सकिन्छ ।
नेपालको राजनीतिलाई पहिले देखि नै पानीले प्रवाहित पार्दै आएको पाइन्छ । पानीमा हुने राजनीतिले गर्दा कतिपय हाम्रा बिद्युत उत्पादनमा अद्भुत सम्भावना बोकेका नदीनालाहरु त्यतिकै खेर गैराखेका छन् । उर्जा मन्त्रीले जनताको जगानीलाइ उर्जामा लगाउन नेतृत्व दिने हो भने यहा अर्बै रुपैया लगानी उठ्ने निश्चित छ , खाचो मात्र इच्छा शक्तिको हो । जनता उनको योजनामा जलबिद्युतमा लगानी गर्न आतुर छन् ।
झोलामा खोला बोकेर हिड्ने कथित उर्जा व्यवसायीहरु , बेडरुम सम्म पहुच बनाउने विदेशीका दलाल जल माफियाहरु र राष्ट्रबादका नाउमा उज्यालोको बली चढाउँन खोज्ने महिसासुरहरु बाट उर्जा मन्त्री बचुन् भन्ने आम नेपालीहरुले अपेक्षा गरेका छन् । कुरा त सवैले गर्छन् तर पूर्व जनमुक्ति सेनाका कमाण्डरसमेत रहेका शाहीलाई आम मानिसहरु उदेश्यमा दिलोज्यानले लाग्ने फाैंजी मन्त्रीकै रुपमा हेर्न चाहन्छन् ।
नेपालको समृद्धि अब औधोगिक बिकाशबाट सम्भव छैन । उर्जा र पर्यटनको विकाशबाट नै हाम्रो आर्थिक समृद्धि सम्भव छ । त्यसका लागि उर्जा मन्त्रीले एउटा इट्टा थपे भने मात्र भने पनि नेपाली जनताले कहिल्यै बिर्सने छैनन् ।
नेपाली जनता राम्रो काममा ताली र नराम्रोमा गाली गर्न कहिल्यै पछि पर्दैनन् । शाहीले उर्जा मन्त्रालयलाई सहि नेतृत्व दिने अपेक्षा जनताको छ । त्यो अपेक्षा पुरा गर्न सके मन्त्रीको जय त हुन्छ नै आम जनता र समग्र रास्ट्र कै जय हुने कुरामा दुइमत छैन ।