रेडियो कर्णालीमा नेकपा आवद्ध भण्डारीको समूहले गर्यो सांघातिक आक्रमण, आक्रमणबाट ठूलो क्षति, रेडियो बन्द

हुम्ला । सदरमुकाम सिमकोटस्थित रेडियो कर्णाली अवाजमाथि आक्रमण भएको छ । नियमित प्रसारणमा रहेको रेडियोमा शुक्रबार राती ९ बजे आक्रमण भएको हो ।

हुम्ला सदरमुकाम सिमकोट माथिल्ला बजारको सूचना टोलमा रहेको रेडियोमाथि अत्याधिक मदिरा सेवन गरी उज्जवल भनिने बाँचबहादुर भण्डारीको नेतृत्वमा आएको समूहले आक्रमण गरेको हो । उनी सिमकोट गाउँपालिका–१ ठेहे निवासी भण्डारी आफै रेडियोको समाचार कक्षमा प्रवेश गरी तोडफोड गरेको रेडियोका मुख्य प्राविधिक समेत रहेका नेपाल पत्रकार महासंघ हुम्लाका अध्यक्ष अर्जुन बोहराले बताए ।

भण्डारी नेतृत्वको समूहले समाचार कक्षका सबै सामाग्री तोडफोड गर्यो । समाचार कक्षमा रहेका २ वटा ल्यापटप, १ वटा डेक्सटप कम्प्युटर, १ प्रिन्टर १, फोटोकपी मेसिन र कुर्चि, टेवल सबै तोडफोड भएका छन् ।

समाचार कक्षका सबै सामान तोडफोड गरेर प्राविधिक कक्षमा प्रवेश गर्न लागेका उनलाई प्राविधिक कक्षमा प्रवेश गर्न रोक लगाउँदा रेडियोका समाचार सहायक दाने बोहराको देव्रे हातमा चोट लागेको छ ।

आक्रमणपछि रेडियोको प्रसारण अनिश्चित कालको लागि बन्द गरिएको पत्रकार नरजन तामाङले जानकारी दिए । रेडियोका स्टेशन म्यानेजर नवराज महतारा जिल्ला बाहिर छन् । आक्रमणहरु प्राविधिक कक्षमा प्रवेश गर्न खोज्दा आफुहरुले रोकेका कारण ठूलो क्षति भने हुन नसकेको तामाङले बताए ।

आक्रमण गर्ने भण्डारीलाई हुम्ला जिल्ला प्रहरीले नियन्त्रणमा लिएको छ । उनी पूर्व माओवादी केन्द्रका कार्यकर्ता हुन् । शनिबार जिल्ला प्रशासन कार्यालय पुगेर रेडियोको प्रशासनले कारवाहीको मागसँगै क्षतिको विवरण पेश गरेको छ ।

यसैबीच नेपाल पत्रकार महासंघ हुम्ला शाखाले एक विज्ञप्ति निकालेर घटनाप्रति आपत्ति जनाएको छ । महासंघका अध्यक्ष अर्जुन बोहराले जारी गरेको विज्ञप्तिमा “संचार क्षेत्रको विकास गर्दै आएको रेडियो कर्णाली आजावको र कार्यरत पत्रकारमाथि गरिएको सांघातिकि आक्रमण गर्ने आक्रमणकारीलाई कारवाहीको माग गर्दैै पत्रकारहरुको सुरक्षामा सम्बन्धित पक्षहरु संवेदनशील हुन पनि पत्रकार महासंघ हुम्ला शाखा आग्रह गर्दछ” भनिएको छ ।

त्यसैगरी रेडियाे कर्णालीमाथि भएकाे अाक्रमणकाे भर्त्सना गर्दै क्रान्तिकारी पत्रकार संगठन, नेपालले दाेषीमाथि कारवाही गर्न माग गरेकाे छ ।

संगठनका अध्यक्ष डिल्लीराज रावतले शनिवार एक विज्ञप्ति जारी गर्दै आक्रमणकारीलाई कडा भन्दा कडा कार्वाहीको माग गर्दै संचारमाध्याम र संचारकर्मीको सुरक्षामा संवेदनशील वन्न राज्यलार्इ सचेत गराएका छन् । अध्यक्ष रावतले विज्ञप्तिमा भनेका छन्, ‘‘हुम्लाको रेडियो कर्णालीमा २०७५ पौष ६ गते राती ९ बजे भएको आक्रमण पछि संचारमाध्याम नै बन्द भएको खबरले हाम्रो संगठनलाई दुःखी बनाएको छ । जनतामा जनचेतना भर्ने समुदाय स्तरमा चलेका सामुदायिक रेडियोका सामाग्रीमा प्रशारण असरपर्ने गरि गरिएको तोडफोड र पत्रकारमाथि हातपातको संगठन घोर निन्दा गर्दछ । यसरी संचारमाध्याममा नै प्रवेश गरेर पत्रकारमाथी हातपात गरी रेडियो प्रशारण सामाग्री नै तोडफोड गर्नुले जनताको सुसुचित हुन पाउने अधिकारको हनन गरेको छ भने पत्रकारमाथी नै हातपात हुनुले पत्रकारको सुरक्षामा पनि गम्भिर प्रश्न उठेको छ । श्रमजिवी पत्रकार र तिनै श्रमिकले काम गर्ने संचारमाध्यामको सुरक्षाका लागि लामो समयदेखि संघर्षमा रहेको हाम्रो संगठनले आक्रमणकारीलाई कडा भन्दा कडा कार्वाहीको माग गर्दै संचारमाध्याम र संचारकर्मीको सुरक्षामा संवेदनशिल वन्न राज्य लगायत सबै पक्षसंग आग्रह गर्दछ ।”

Loading...