माेटरसाइकल चलाउँदा थाहा पाउनैपर्ने केही कुराहरु

काठमाडाैं । दुईपांग्रे सवारी चलाउँदा कुनै पनि समय र स्थानमा दुर्घटना हुन सक्छ । आफ्नो या अरूको गल्तीका कारण पनि मोटरसाइकलचालकहरू दुर्घटनामा पर्ने सम्भावना हुन्छ । त्यसैले मोटरसाइकल चलाउँदा चालकले सुरक्षाका विषयमा कुनै पनि सम्झौता गर्नुहुँदैन । सडकमा दुईपांग्रे चलाउँदै गर्दा अपनाउनुपर्ने सामान्य सुरक्षित उपायबारे कायस्थ मोटर्सका सञ्चालक नसिब कायस्थका सुझाब यस्ता छन् :

गुणस्तरीय हेलमेटको प्रयोग
मोटरसाइकल÷स्कुटर दुर्घटनामा परेमा टाउको जोगाउने सबैभन्दा उपयुक्त साधन हो, हेल्मेट । केही पैसाको लोभमा कम गुणस्तरको हेल्मेट प्रयोग गर्दा ठूलै जोखिम पनि निम्तिन सक्छ । त्यसैले हेल्मेट किन्दै गर्दा कस्तो मेटेरियलबाट बनेको हो भन्ने विषयमा ख्याल गर्नुपर्छ । बाइक चलाउँदा सधैँ सर्टिफाइड हेल्मेट नै लगाउनुपर्छ ।

दुईवटै ब्रेकको प्रयोग
मोटरसाइकल चलाउँदा कुशल चालक हुन आवश्यक पर्ने महत्वपूर्ण कला हो, दुईवटै ब्रेकको सही प्रयोग । यदि दुईवटै ब्रेकको सहयोगले आफ्नो सवारी रोक्न सफल हुनुभयो भने तपाईं कुशल बाइकर बन्न सक्नुहुन्छ । यो जो–कोही चालकको सुरक्षाका लागि यो उत्तम कला हो ।

गति नियन्त्रण
सवारी चलाउँदै गर्दा सवारीको गतिमा सधैँ ध्यान दिनुपर्छ । बाइक चलाउँदै गर्दा सामान्य मात्रै गल्ती भयो भने पनि ठूलै दुर्घटना निम्तिन सक्छ । आफूले चलाउँदै गरेको स्थानको सडक नियमअनुसार गति नियन्त्रण गर्नु सबैका लागि फाइदाजनक नै हुन्छ ।

गतिको सीमितता
जुन सवारीसाधन तपाईं प्रयोग गरिरहनुभएको छ, त्यसको पनि निश्चित गति निर्धारण गरिएको हुन्छ । त्यसैले कहिल्यै पनि निश्चित मापदण्डभन्दा गति बढाउने कोसिस गर्नु हुँदैन । यसो गर्दा सवारीसाधन आफैँ नियन्त्रणबाहिर पनि जान सक्छ । त्यसैले सडकमा सवारी चलाउँदै गर्दा निर्धक्क भएर, आरामका साथ सवारी चलाउनुपर्छ ।

सुरक्षित दूरी कायम
सडकमा सवारी चलाउँदै गर्दा अगाडि बढिरहेको मात्र होइन, दायाँ–बायाँ तथा पछाडिको सवारीसँग पनि निश्चित दूरी बनाइराख्नुपर्छ । ट्राफिक जाममा फसिएको अवस्थामा पनि वरिपरिको अवस्था बुझेर दूरी बनाइराख्नुपर्छ । अन्य कुनै पनि सवारीको नजिक जाने कोसिस गर्दा ठूलै जोखिम पनि निम्तिन सक्छ ।

सिग्नलको सही प्रयोग
व्यस्त सडकमा सवारी चलाउँदै गर्दा अन्य सवारीलाई आवश्यक सूचना दिन महत्वपूर्ण मानिन्छ, सिग्नल । कुनै पनि स्थानमा मोड्नुपर्दा, रोक्नुपर्दा सही सिग्नलको प्रयोग गर्नुपर्छ । त्यस्तै, लेनमा आफ्नो दिशा अचानक परिवर्तन गर्नु हुँदैन । सडकमा अब कता जाँदै छु भन्ने जानकारी इन्डिकेटर या हातका माध्यमबाट पनि दिन सकिन्छ ।

ओभरटेकमा सावधानी
सवारी चलाउँदै गर्दा कैयौँ स्थानमा ठूलै घुम्तीहरू आउन सक्छन् । त्यस्ता स्थानमा विपरीत दिशातिरबाट आएको सवारी देखिँदैन । त्यस्तो स्थानमा कहिल्यै पनि हतार गरेर ओभरटेक गर्नु हुँदैन । अझ ठूला सवारीलाई ओभरटेक गर्ने समयमा त झन् ख्याल राख्नुपर्छ । ओभरटेक पनि सधैँ दायाँ साइडबाट मात्र गर्नुपर्छ ।

उपयुक्त बाइक
बाइक खरिद गर्दा सबैभन्दा पहिला आफ्नो आवश्यकतालाई ध्यान दिनुपर्छ । हरेक व्यक्तिलाई २०० या सोभन्दा बढी सिसीको बाइक आवश्यक पर्दैन । हरेक व्यक्ति फरक–फरक गतिमा सवारी चलाउँदा आफूलाई कम्फर्टेबल अनुभव गर्छन् । त्यसैले आफ्नो आवश्यकता र कुशलतालाई मध्यनजर गरेर बाइक किन्नुपर्छ ।

एन्टिलक ब्रेकिङ सिस्टम
मोटरसाइकलमा जडान गरिएको एन्टिलक ब्रेकिङ सिस्टमले धेरै नै दुर्घटना जोगाएको पाइन्छ । त्यसैले यो प्रविधिमा खर्च गर्न लोभ गर्नु हुँदैन । एन्टिलक ब्रेकिङ सिस्टम अब महँगा मोटरसाइकलमा मात्र जडान गर्नुपर्छ भन्ने छैन ।

मौसममा सचेत
वर्षात् या हिउँ पर्ने स्थानमा मोटरसाइकल सकेसम्म चलाउनबाट जोगिनुपर्छ । यस्तो मौसममा सडक चिप्लो हुने कारण दुर्घटना हुने जोखिम बढाउँछ । यसका साथै मोटरसाइकल चलाउँदै गर्दा सही पहिरनको छनोटमा पनि ध्यान दिनुपर्छ । सकेसम्म पूरै शरीर छोपिने कपडा र जुत्ता लगाउन बिर्सनु हुँदैन ।

Loading...