पत्रकारिता क्षेत्रको सबैभन्दा ठूलो राशीको पुरस्कार देवकोटा र बराललार्इ बितरण

काठमाडौँ । प्रेस काउन्सिल नेपाल–सानिमा बैंक राष्ट्रिय पत्रकारिता पुरस्कार नयाँ पत्रिका दैनिकका प्रधानसम्पादक कृष्णज्वाला देवकोटा र अनलाइनखबर डट कम का सम्पादक अरुण बराललार्इ प्रदान गरिएकाे छ । सानिमा बैंकले प्रायाेजन गरेकाे याे पुरस्कार दाेस्राे पटक प्रदान गरिएकाे हाे । यसअघि स्वर्गिय पत्रकार सञ्जय न्याैपाने र कर्ण बाेहाेरालार्इ मरणाेपरान्त याे पुरस्कार प्रदान गरिएकाे थियाे ।

पाँच लाख राशी रहेकाे याे पुरस्कार पत्रकारितामा सबैभन्दा ठूलाे पुरस्कार हाे । २०७२ सालदेखि स्थापना भएको याे पुरस्कार यसपटक पनि काउन्सिलले दुर्इ जनालार्इ दिने निर्णय गरेकाे हाे । यसअघि नै घाेषणा गरिएकाे पुरस्कार साेमवार राजधानीमा एक कार्यक्रम गरी वितरण गरिएकाे हाे । पुरस्कार वितरण समाराेहमा प्रमुख अतिथि बनेका सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले सदाझै कार्यक्रम अवधिभर प्रेसका बारेमा कुरा गरे । उनले मिडियालार्इ सत्य के हो बुझेर लेख्नुपर्ने बताए । उनले पत्रकार प्रतिपक्षको भूमिकामा नभई पत्रकारकै रुपमा रहनुपर्ने पनि बताए । समयानुकूल परिवर्तित हुनुपर्ने भए पनि उपभोगको लागि मात्रै पत्रकारित गर्ने परिपाटी मौलाएको भन्दै उनले केही अावेग देखाए । मन्त्री बास्काेेटाले मिडियाले आरोपित गर्नेमात्र होइन, आरोपितका धारणा पनि बाहिर ल्याउनुपर्ने बताए । साे क्रममा उनले पत्रकारकाे पारिश्रमिक, समानुपातिक विज्ञापन अादि विषयका बारेमा पनि अाफ्ना धारणा राखे ।

त्यसैगरी कार्यक्रममा प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले राम्रो ब्यतिलाई पुरस्कृत गर्न सकेको खण्डमा मात्रै समाजमा सकारात्मक सन्देश जाने बताए । याे पुरस्कार प्रेस काउन्सिल, पत्रकार महासघ र सानिमा बैंकको पटकपटकको छलफल तथा बैठक बसेर स्थापना भएकाे बताए । बिशेष मापदण्ड, बिधिको आधारमा त्रिपक्षीय निर्णयको आधारमा पुरस्कृत ब्यक्ति छनौट गरिदै आएको पनि उनले बताए । उनले जे देख्यो त्यही लेख्ने ब्यक्तिहरु पुरस्कृत भएकाेमा अाफू गौरवान्वित भएकाे बताए ।

पुरस्कृत हुने नयाँपत्रिका दैनिकका प्रधानसम्पादक देवकोटाले छापा माध्यममा आफुहरु नयाँ इतिहास रच्ने प्रयासमा रहेको र काउन्सिलको पुरस्कारले प्रेरणा दिएको बताए । उनले आफुले पाएको २ लाख ५० हजार राशिको पुरस्कार सामाजिक कार्यमा खर्चने उदघोष गरे । त्यसैगरी अनलाइन खबरका सम्पादक बरालले अहिले पुरस्कारको सम्मान र इज्जत घटेकाले प्रश्नबिहिन पुरस्कारको लागि पुरस्कार दिने र लिनेको नियत स्वस्थ तथा तथा पुरस्कार छनोट प्रकृया निष्पक्ष हुनुपर्नेमा जोड दिए ।

बरिष्ठ पत्रकार भैरव रिजालले हालको पत्रकारिता शरीर नभएर स्वरुपमात्रै भएकाले जीवन भर्न सक्नुपर्नेमा पत्रकार सजग रहनुपर्ने सुझाए । प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष बोर्ण बहादुर कार्कीले नेपाली पत्रकारिता विकासको लागि प्रोत्साहन स्वरुप पुरस्कार स्थापना गरिएको जानकारी गराए ।

यसअघि काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ, नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य, सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवनकुमार दाहाल, वरिष्ठ पत्रकार तीर्थ कोइराला सदस्य र काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसाल सदस्य सचिव रहेको पुरस्कार छनोट समितिको बैठकले पुरस्कार वितरण गर्ने निर्णय गरेको थियो ।

Loading...