तिवारी प्रकरणमा मेरो कुनै संलग्नता छैन- पत्रकार मल्ल

टोकियो – जापान बस्दै आएका पोखराका गोबिन्दप्रसाद तिवारीको ठगी प्रकरणमा संलग्नता रहेको आरोप खेप्दै आएका पत्रकार तिलक मल्लले त्यसमा आफ्नो कुनै संलग्नता नरहेको र आफुलाई जबरजस्ती फसाउन खोजिएको स्पष्ट पारेका छन् ।

फरक सन्दर्भमा तिवारीसंग भएको लेनदेन कारोवार र तिवारीको ठगी धन्दा फरक फरक बिषय एवं प्रसंग भएकोले एउटै घटनाकारुपमा नलिन उनले आग्रह गरे । आफुले मिलाउनुपर्ने हिसाब तिवारीले पीडितहरुलाई बुझाउन लगाएर आफुलाई झुक्याएको मल्लले बताए । त्यसैको भरमा आफुलाई ’इमोशनल ब्ल्याकमेलिङ’ गरी जबरजस्ती फसाउन खोजिएको उनले आरोप लगाए ।

यसै बिषयलाई लिएर आफुलाई सोध्दै नसोधी वास्तविक कुरा बुझ्दै नबुझी केही अनलाईनले मिडिया आतंक मच्चाएको र सामाजिक सञ्जालमा आफ्नो चरित्र हत्या गरेकोले आफुमाथि ठूलो अन्याय भएको उनले बताए । अरुलाई खाने बाघले आफुलाई पनि खान सक्ने कुरा कसैले पनि बिर्सन नहुने उनले बताए ।

’आरोपका लागि आरोप लगाएर हुंदैन पुष्टी गर्न सक्नुपर्छ’ – उनले भने – मिडियामा आएका समाचारहरु सबै सत्य हुँदैनन् । जुनकुरा दिनहुँजसो आउने अनलाईनका उटपट्याङ समाचारहरुले नै प्रमाणित गरिरहेका छन्, सत्य तथ्यको गहिराईमा पुग्दै नपुगी सटही र छिपछिपे बुझाईबाट धारणा बनाईहाल्ने सँस्कारले समाजको कहिलै भलो गर्दैन ।’
शनिवार टोकियोमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भने – ’पीडितले न्याय पाउनुपर्छ, दोषीले हदैसम्मको सजायँ पाउनुपर्छ, त्यसका लागि मबाट देखिनेगरी सक्दो पहल हुने छ ।’

आकर्षक रोजगारीका लागि जापान ल्याउने प्रलोभन देखाएर करोडौको ठगी गरेको अभियोग लागेका पोखराका गोविन्दप्रसाद तिवारीलाई नेपाल फिर्ता पठाउन जापानको नेपाली समुदायले दूतावासमार्फत पहल अगाडि बढाएका छन् । तिवारीको उक्त ठगी धन्दामा संलग्नता रहेको भन्ने झुठो आरोप पत्रकार मल्लले पनि खेप्दै आएका छन् । त्यस बिषयमा आधिकारिक धारणा राख्न नेपाल पत्रकार महासंघ जापान शाखाले शनिवार पत्रकार सम्मेलनको आयोजना गरेको हो । मल्ल महासंघ जापान शाखाका पूर्व अध्यक्ष पनि हुन् ।

तिवारीको निर्देशनमा एक वर्ष अगाडि पीडितहरुले पत्रकार मल्लका छोरा सुदर्शन मल्लको बैंक खातामा पैसा जम्मा गरेका थिए । जम्मा हुन आएको रकमको जबाफदेही तिवारी हुने भएकोले तिवारी परिवारबाटै उक्त रकम फिर्ता दिलाउन गरिएको लामो प्रयासबाट पहिलो किस्ता रकम नेपाल पठाईसकिएको मल्लले जानकारी दिए ।
रकम जम्मा गर्ने पक्ष र बैंकको खाता नंबर उपलब्ध गराउने पक्षबीच तत्कालिन अवस्थामा कुनै संवाद र सम्झौता नभएकोले दुवैपक्षको मिस अण्डर-स्ट्याण्डिङबाट बल्झिन आएको समस्यालाई सहमतिबाटै सल्टाउन भईरहेको प्रयास अनुसार पीडितहरुको रकम फिर्ता दिलाउन आफु लागिपरेको उनले बताए । उनले भने – ’अबको केही दिनभित्र पीडितहरुले पहिलो किस्ता रकम फिर्ता पाउने छन् ।’

काम गर्दै किस्ताबन्दीमा तिर्दै जाने सर्तमा तिवारी परिवारले केही रकमको जोहो गरी नेपाल पठाएको र अरु पनि क्रमशः तिर्दै जान तिवारी परिवार तयार रहेको कुरा पत्रकार सम्मेलनमा मल्लले जानकारी दिए ।
गोविन्द तिवारीलाई जापान प्रहरीले कुनै पनि बेला नेपाल पठाउन सक्ने भएकोले जापानमै रहेका उनका श्रीमती, भाइ लगायतका परिवारका सदस्यहरुले काम गर्दै पीडितहरुको रकम क्रमशः फिर्ता गर्दै जाने भएका छन् ।

कुनै पनि समस्यालाई बल्झाउन भन्दा सल्टाउने दिशातिर जिम्मेवार सबैको ध्यान जानुपर्ने धारणा राख्दै पत्रकार मल्लले आफुले जस्तोसुकै आरोप प्रत्यारोप खेप्नुपरे पनि आफु निरन्तर पीडितहरुको पक्षमा अडिग भएर उभिने प्रतिबद्धता ब्यक्त गरे । उनले भने – ’जस्तोसुकै समस्या झेल्नुपरे पनि सत्य र न्यायको पक्षमा निर्भिक भएर उभिनेछु, अन्तमा सत्य साबित भएरै छोड्ने छ, तिवारीको ठगी धन्दामा संलग्नता रहेको सप्रमाण दोषी करार गरियोस् तपाईहरुकै अगाडि सेरिएर मर्न तयार छु – मल्लले भने ।’

तिवारीको प्रकरणमा आफ्नो कुनै पनि साइनो सम्बन्ध नभए पनि बाघ कराउनु, बाख्रा हराउनु हुन गएकोले नखाएको बिष लाग्न गएको बताउँदै उनले भने – यस प्रकरणले जति धेरै पीडा दिए पनि त्यो भन्दा धेरै कुरा र सहनशीलता सिकाएको छ । समस्या बल्झिसकेपछि समाधानका लागि त्रिकोणात्मक समन्वय गर्दै संभावनाहरु केलाउन र निकास पहिल्याउन अपेक्षा गरेभन्दा केही समय बढी लाग्न गएकोले यसलाई कमजोरीको रुपमा नलिन सबैमा अनुरोध गर्दछु ।’

मेलमिलाप, एकता, सहकार्य र संवादबाटै जस्तोसुकै समस्या पनि समाधान गर्न सकिने भएकोले नेपालीहरुबीचको सद्भाव खलल हुन नदिन सबैको उत्तिकै जिम्मेवारी हुने भएपनि पत्रकारहरुको भूमिका अझ महत्वपूर्ण हुने कुरा कसैले बिर्सन नहुने उनले बताए । तिललाई पहाड बनाउने कि पहाडलाई तिल बनाउने भन्ने कुरामा जिम्मेवार पत्रकार बहकिन नहुने उनले बताए ।

पत्रकार सम्मेलनमा तिवारीको ठगी धन्दामा कुनै संलग्नता नरहेको भन्ने तिवारी परिवारले गरेको लिखत कागज, सोही ब्यहोराको भिडियो क्लिप र तिवारीसंग भएगरेका हिसाबकिताबको फेहरिष्ट पनि मल्लले प्रस्तुत गरेका थिए ।***

 

 

 

 

Loading...