शिनओकुबो घटनाप्रति नेपाली ब्यवसायी समितिद्वारा घोर निन्दा

गत आइतवार राती टोकियोको शिनओकुबोस्थित एक रेष्टुरेन्टमा नेपालीहरुबीच भएको अप्रिय एवं अनपेक्षित घटनाप्रति शिनओकुबो नेपाली ब्यवसायी समितिले गम्भीर ध्यानाकर्षण भएको भन्दै सो घटनाको घोर निन्दा गरेको छ ।

ब्यवसायिकरुपमा गम्भीर आघात पर्ने गरी भएको सो घटनामा जो सुकैको संलग्नता भएको भए पनि दोषीलाई कसुर बमोजिमको सजाय दिलाउन सो समितिले कडा कदम चाल्ने बताएको छ ।

समितिका संयोजक बिजय थकाली र उपसंयोजक पुष्करजंग थापाद्वारा जारी गरिएको विज्ञप्तीमा, जापानको नियम कानुन पालना गरी ब्यवसाय गर्न पाउने अधिकारको खिल्ली उडाउदैं भएको तोडफोड एवं अराजक गतिबिधिले कानुनी राज्यमा बसेर प्रवासमा नेपालीहरुको छबि धुमिल बनाएको जनाईएको छ । यसबाट पर्न जाने असरबाट कुनै न कुनैरुपमा स्वयम नेपालीहरु नै प्रभावित हुनुपर्ने भएकोले बिदेशमा बसेर नेपालीहरुको नै हित बिपरित हुने क्रियाकलाप नगर्न समितिले सम्बन्धित सबैमा अपिल गरेको छ ।

विज्ञप्तीमा, नेपालीहरुबाट भएको यस प्रकारका क्रियाकलापले स्थानीय प्रहरी प्रशासन, महानगरीय प्रहरी र स्थानीय जापानी समुदायको समेत गम्भीर चिन्ता र चासो ब्यक्त भईरहेको जनाउंदै समितिले दोषीहरुको पहिचान गरी हदैसम्मको कार्वाही गर्न महानगरीय प्रहरी प्रशासनमा जोडदार माग समेत गरेको छ ।
ब्यवसायिक गतिबिधिमा खलल पुग्ने खालका अशोभनीय गतिबिधी हुन नदिन र नेपाली नेपालीबीचको मेलमिलाप, एकता र हार्दिकतालाई सुदुढ बनाउन समितिले यथाशिघ्र तदअनुरुपको आवश्यक कदम चाल्ने बताएको छ ।

‘सामाजिक सञ्जालमा समाजमा उत्तेजना एवं नकरात्मक सन्देश फैलाउने खालका भिडियो फुटेज तथा अभिब्यक्ति प्रवाह नगरिदिन पनि सम्बन्धित सबैमा हार्दिक अपिल गर्न चाहान्छौं’- विज्ञप्तीमा भनिएको छ ।

घटनाबाट पीडितहरु सामान्य उपचारबाट घर फर्किसकेको र दोषीहरु मध्यका केही छानबिनकै क्रममा प्रहरीको निगरानीमा रहेको पनि समितिले जानकारी गराएको छ । प्रहरी प्रशासनले सिसी क्यामेराको अध्ययन गरी दोषी पत्ता लगाई कार्वाहीको दायरामा ल्याउने जानकारी समेत समितिलाई दिएको छ ।

नेपालीहरुको हब मानिने शिनओकुबोमा ब्यवसायरत नेपाली ब्यवसायीहरुको आपसी हित एवं ब्यवसायिक प्रबर्द्धन गर्न र भईपरी आउने समस्या समाधानका लागि शिनओकुबो नेपाली ब्यवसायी समिति गठन भएको हो । समितिले ब्यवसायीहरुको पक्षमा ऐक्यबद्धता जाहेर गर्दै ज्यादती एवं अराजक गतिबिधिको नियन्त्रण गर्न स्थानीय प्रहरी प्रशासनसंग सहकार्य गर्दै अगाडि बढ्ने जनाएको छ ।

जापानमा बसेर सारा नेपालीलाई लज्जित तुल्याउने यसप्रकारका घटना दोहोरिन नदिन ब्यवसायीहरु स्वयम आफ्नो तर्फबाट पनि आवश्यक भूमिका एवं खबरदारीलाई प्रभावकारी बनाउने प्रतिबद्धता समेत समितिले बिज्ञप्तीमार्फत ब्यक्त गरेको छ ।

Loading...