निर्मला हत्या प्रकरणमा बम दिदीबहिनी रोशनी र अनिता पक्राउ, अब के हुन्छ ?

कञ्चनपुर ।

१३ वर्षीय निर्मला पन्तको हत्या अनुसन्धानका लागि प्रहरीले उनकी साथी रोशनी बम र रोशनीकी दिदी अनिता बमलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर एसपी कुबेर कडायतले अनुसन्धानका लागि रोशनीका दिदीबहिनीलाई नियन्त्रणमा लिइएको बताए ।

यसअघि तारेखमा राखेपनि शनिबार उनीहरुलाई पक्राउ पुर्जी जारी गरेर पक्राउ गरिएको हो । भीमदत्त नगरपालिका २ की १३ वर्षीया निर्मला पन्त गृहकार्य गर्न तथा नोटबुक लिनका लागि साइकल चढेर रोशनीको घर पुगेकी थिइन् । बलात्कारपछि उनको गत साउन १० गते हत्या भएको थियो।

भोलि अदालतबाट म्याद थप गरी उनीहरुमाथि अनुसन्धन गरिने एसपी कडायतले जानकारी दिए । पन्तको हत्या भएको एक महिनासम्म पनि प्रहरीले हत्याबारे ठोस अनुसन्धान गर्न सकिरहेको छैन ।

प्रहरीले पन्तको हत्या भएको २५ औं दिनमा समातेर २६ औं दिनमा पत्रकार सम्मेलन गरी मानसिक सन्तुलन गुमेका व्यक्तिलाई नियन्त्रणमा लिएपछि स्थानीय झन् आक्रोशित हुदैँ आन्दोलनमा उत्रेका हुन् । शुक्रबारको आन्दोलनमाथि प्रहरीले हस्तक्षेप गरेर सयौं राउण्ड गोली चलाएको छ ।

शुक्रबार प्रहरीको गोली लागि स्थानीय १४ बर्षका शनि खुनाको ज्यान गएको छ भने ३० जना प्रदर्शनकारी घाइते छन् । उनीहरुको बिभिन्न महेन्द्र, कोहलपुर, भारत र काठमाडौं गरी बिभिन्न अस्पतालहरुको उपचार भइरहेको छ । मृतकका आफन्तले भने शुक्रबार रातभर जिल्ला प्रहरी कार्यालयमा धर्ना दिएका छन् ।

घटनाको छानबिनका लागि सरकारले गठन गरेको समिति शुक्रबार भीमदत्तनगर पुगिसकेको छ। बम दिदीबहिनी पक्राउ परेसँगै घटना कतातिर मोडिन्छ भन्नेमा आन्दोलनकर्ताहरु चनाखो बनेका छन् ।

पिडित पक्षले बम दिदीबहिनीसहित एसपी डिल्लिराज बिष्टका छोरा र भीनपाका नगर प्रमुख सुरेन्द्र बिष्टका भतिजासमेत दोषी रहेको आरोप लगाएका छन् ।

Loading...