पम्फा भुसालले दस करोड खाएकोबारे प्रचण्डले खोले मुख

काठमाडौं, २ असार । मोहन बैद्य किरणलाई छोडेर रामबहादुर थापा बादलका साथमा पुरानै पार्टीमा फर्किएकी नेतृ पम्फा भुषाल यतिबेला विवादमा छन् । उनले दस करोड पैसा लिएर खाएको समाचार केही मिडियामा आएपछि उनी विवादमा परेकी हुन् ।

यसैबीच यो घटनाबारे नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रष्ट पारेका छन् । प्रचण्डले सोमबार आफ्नो सचिवालय मार्फत यसबारे प्रष्टिकरण दिएका हुन् ।

नेतृ भुषाल माओवादी केन्द्रकी प्रवक्ता हुन् । उनले स्थानीय तहको निर्वाचनको तयारीका बेला पार्टी केन्द्रीय कार्यालयबाट दस करोड रकम लिएको समाचार मिडियामा आएको थियो । पार्टी केन्द्रीय कार्यालयबाट त्यो रकम लिए पनि उनले निर्वाचनमा कतै खर्च नगरेको समाचार आइतबार विभिन्न मिडियामा आएको थियो ।

आइतबार मिडियामा आएको त्यो समाचार गलत भएको भन्दै आफ्नो सचिवालयमार्फत प्रचण्डले स्पष्ट पारेका हुन् । उनले यो समाचार ’भ्रामक र दुराग्रहपूर्ण‘ रहेको बताएका छन् ।

प्रचण्डको सचिवालयले त्यसबारे स्पष्ट पार्दै प्रचार विभागलाई पार्टीले आर्थिक अनुदान नदिएको जनाएको छ । साथै नेतृ भुसालले पार्टी केन्द्रीय कार्यालय, अध्यक्ष प्रचण्ड वा पार्टीका कुनै पनि निकायबाट एक रुपैयाँ पनि रकम नलगेको विज्ञप्ती जारी गर्दै सचिवालयले स्पष्ट पारेको छ ।

यो समाचार अहिले चलिरहेको पार्टीको केन्द्रीय सचिवालय बैठकलाई प्रभावित पार्नका लागि प्रकाशित गरिएको आरोप पनि प्रचण्डको सचिवालयले लगाएको छ ।

 

Loading...