- हिमालचन्द्र बराल
हिजो रुनुको अर्थ नबुझ्दै
रुँदै जन्मिएको थिएँ म
आज मलाई आँसुको मर्म सिकाउने को ?
हिजो कारण बिना रुन्थें
मलाई अमृतधारा पिलाएर
आमाले फुल्याउनुहुन्थ्यो
विना कारण हाँस्थे म
बाबाको मुहारमा खुशीको गुँरास झुल्थ्यो
आज मलाई खुसी हुन कारण चाहिन्छ
अनि रुनको लागि पनि कारण चाहिन्छ
यसरी कारण सिकाउन खोज्ने को ?
हिजो सबैकासामु दिल खोलेर रुन्थें
सबैको सामु रुनु हुँदैन
बरु आँसुलाई घुटुघुटु पिउनुपर्छ, रुनु हुँदैन
सबै सहनुपर्छ, यही नै धर्म हो भनेर सिकाउने को ?
जब म हिंड्न सक्दिन थिएँ
मलाई हात समातेर
जीवनको मैदानमा बामे सर्न
बाले सिकाउनुभयो
थिरिथिरि गर्दै आमाले
आफ्नै खुट्टामा उभिन सिकाउनुभयो
ताते ताते भनेर तोते बोल्दै
आवाजको सरगम पढाउनुभयो
सोचेथें जिन्दगी सपाट र सरल हुन्छ
तर जिन्दगी जटिलताको पर्याय हो
आँखासामु घना अन्धकार छाउछ घरिघरि
सपनाको यात्रा पनि धूमिल हुन्छ बेलाबखत
सम्झौताको सामु घुँडा टेक्नु हुँदैन कदापी
अन्तिम साससम्म लड्नुपर्छ
यही नै जीवनको कर्म हो भनेर मलाई सिकाउने को ?
द्वीविधाको तुषारोमा अल्मलिएर
कुहिरोको कागझैं
जब हराइरहेको थिएँ म
केवल उदासी पोतिएको थियो मुहारमा
थकानको भरिया भएको थियो शरीर
त्यतिबेला आशाको जून बनेर उदाउने को ?
त्यही उज्यालोको भरोसामा
आफूलाई खोज्नुपर्छ
विश्वासको घाम अस्ताउनुअघि
रहरका तीन घुम्ती छिचोल्नुपर्छ
सपनाका जङ्घार तरिसक्नुपर्छ
विवशताको बन्दुकसामु
आत्मसमर्पण गर्नु आत्महत्या सरह हो
प्रत्येक सङ्कटविरुद्ध
विद्रोहको जीवनमूल्य घोकाउने को ?
आज जीवनको यो कुइनेटोमा उभिएको छु
जहाँ म जीवनलाई हेरिरहेछु एकटक
जीवन मलाई नियालिरहेछ
आँखा झिमिक्क नगरी
नजाने कतिपल्ट लडें जिन्दगीमा
तर, प्रत्येक बाजी उठेर
दुनियाँका सारा उपेक्षा र उपहाससँग डटेर
अघि बढ्न पछाडिबाट धकेलिरहने
ए १ मेरो जीवनको कुरुक्षेत्रको कृष्ण
जो मलाई जीवनको परम सत्यको लागि
सदैव अर्जून बन्न अनुभव गीता घोकाइरह्यौ
तिम्रो श्रद्धामा नतमस्तक भएर
शीर झुकाइरहेछु म ।