किरात विश्वविद्यालय स्थापनाका गर्न यस्ताे प्रयास

खोटाङ, १० असोज । प्रदेशस्तरीय किरात विश्वविद्यालय स्थापनाका लागि खोटाङमा पहल थालिएको छ । संघीय संरचना कार्यान्वयनसँगै जिल्लाका शिक्षाविद्ले प्रादेशिक किरात विश्वविद्यालय स्थापनाका लागि बहस थालेका हुन् ।

जातीय, बहुधार्मिक, बहुसांस्कृतिक क्षेत्रका रुपमा रहेका कारण देशविदेशका भाषाशास्त्री, समाजशास्त्री, मानवशास्त्रीका लागिसमेत अध्ययन–अनुसन्धानको मलिलो भूमिकारुपमा रहेकाले जिल्लामा किरात विश्वविद्यालय स्थापनाको अवधारणा अघि सारिएको नेपाल आदिवासी जनजाति महासंघ, खोटाङका अध्यक्ष हात्तीराम राईले जानकारी दिए ।

प्रदेश नं १ का हालका दुई विश्वविद्यालय तराई केन्द्रित रहेकाले पहाडमा पनि विश्वविद्यालय स्थापना आवश्यक देखिएको प्रा डा धनप्रसाद सुवेदीले बताए ।

मध्यपहाडी लोकमार्गको आसपासमा पर्ने खोटाङको मुढे वा नेर्पामा स्थापना गर्न प्रस्ताव गरिएको किरात विश्वविद्यालयको अवधारणापत्रमा विभिन्न संकाय भने ओखलढुंगा, सोलुखुम्बु, भोजपुर, धनकुटा, पाँचथर, संखुवासभालगायतका जिल्लामा स्थापना गर्न सकिने उल्लेख गरिएको छ ।

परम्परागत तथा आधुनिक विषयमा सैद्धान्तिक र व्यावहारिक अध्ययन, अनुसन्धान तथा ज्ञानआर्जनको अवसरका लागि नेपाल आदिवासी जनजाति महासंघ, खोटाङको आयोजनामा किरात विश्वविद्यालय स्थापनासम्बन्धी पहिलोचरणको अन्तक्र्रिया सोमबार गरिएको हो ।

नयाँ संविधानअनुसार प्रादेशिक विश्वविद्यालय सञ्चालन गर्ने प्रदेशबाटै प्रस्तावित किरात विश्वविद्यालयका लागि स्रोत जुटाउन सकिने तथा दाता तथा विद्यार्थीको शुल्कबाट पनि आर्थिक स्रोत जुटाउन सकिने अवधारणापत्रमा उल्लेख छ ।

विश्वविद्यालय स्थापनासम्बन्धी प्राध्यापक डा सुवेदी, प्रा प्रकाश राई र लेखक भोगीराज चाम्लिङले तयार पारेको अवधारणापत्रमाथि दिक्तेल बहुमुखी क्याम्पसका प्राध्यापक कृष्णबहादुर राई र वरिष्ठ पत्रकार कृष्ण आचार्यले टिप्पणी गरेका थिए ।

Loading...