कांग्रेसले जनतामा भ्रम फैलाउने काम गरिरहेको छः प्रधानमन्त्री ओली

काठमाडौं ।

प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले जनतामा भ्रम फैलाउने काम गरेको आरोप लगाएका छन् ।

पार्टी केन्द्रीय कार्यालय धुम्वाराहीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले झुटको खेती गरेर जनतालाई अन्योलमा राख्ने काम तत्काल बन्द गर्न कांग्रेसलाई आग्रह गरे ।

स्वस्थ प्रतिस्पर्धाका आधारमा राजनीति गर्न सुझाव दिँदै ओलीले सरकारको काममा व्यवधान नपुर्‍याउन सुझाव दिए । प्रधानमन्त्री ओलीले राष्ट्रिय स्वाभिमान, अखण्डता र शान्तिलाई खल्बलाउन खोज्ने जो कोहीलाई पनि सरकारले नियन्त्रण लिने चेतावनी दिए ।

सरकार आफ्नो काममा स्पष्ट रहेको भन्दै उनले आफ्नो जिम्मेवारीमा सरकार अडिग रहेको स्पष्ट पारे । प्रधानमन्त्री ओलीले कतिपय नयाँ अभ्यासमा व्यवधान आउनु स्वभाविक भएको भन्दै त्यस्ता व्यवधान समाधान गरिने बताए ।

कार्यक्रममा नेकपाका अध्यक्ष पुष्पकमल दाहालले कम्युनिस्ट पार्टी नेतृत्वको सरकारले नै जनताले देखेका सपना पूरा गर्ने दाबी गरे । कार्यक्रममा अध्यक्षद्वय ओली र दाहालले २ सय ५० जनालाई टीका लगाएर र खादा ओढाएर पार्टी प्रवेश गराएका थिए ।

Loading...