जदाै साहित्यकार दाहाल यज्ञनिधि रहेनन्

काठमाडौं । प्रसिद्ध रेडियो नेपालकर्मी एवं साहित्यकार यज्ञनिधि दाहालको शुक्रबार साँझ निधन भएको छ। किड्नीको समस्याबाट पीडित उनको साँझ ८ बजे सुमेरु अस्पतालमा निधन भएको अस्पतालकी चिकित्सक डा.संगीता सञ्जेलले नेपालखबरलाई बताइन्।

हप्ताको तीन पटक डायलासिस गरिरहेका उनलाई गाह्रो भएपछि हेमो डालासिसको लागि शुक्रबार १२ः३० बजे सुमेरु अस्पताल भर्ना गरिएकाे थियाे। ‘हामी कहाँ आइपुग्दा उहाँ लगभग बेहोसजस्तै हुनुहुन्थ्यो’, डा. सञ्जेलले भनिन्, ‘अक्सिजनको मात्रा पुगेको थिएन। त्यसैले हाइफ्लो अक्सिजन दियौं। भेन्टिलेटरमा राख्यौं।’

डायासिस चलिरहँदा मुटुको चाल कम हुँदै गएपछि त्यसलाई रोक्नुपरेको थियो। साँझ ८ बजे उनलाई चिकित्सकले मृत घोषित गरे।

वि.सं. २०१० मा खोटाङमा जन्मिएका दहालले रेडियाे नेपालमा चलाउने साहित्यिक कार्यक्रम ‘साहित्य संसार’ नेपाली श्रोतामाझ लाेकप्रिय रहेकाे थियाे। धरानको वेद विद्यालयमा अध्ययन गरी २०३१ सालमा काठमाडौं पसेका उनी २०३४ मा रेडियो नेपालको साहित्य संसारमा छिरेका थिए।

ओजिलो स्वर र खोजपूर्ण सामग्रीका कारण उनी रातरात भने झै गरी लोकप्रिय भए। २०५६ सालसम्म उनले साे कार्यक्रम सञ्चालन गरेका थिए। तत्कालीन समयमा कथाकथित तल्लाे जातका मानिसले प्रयाेग गर्ने ‘जदाै’ शब्दकाे प्रयाेगलार्इ दाहालले व्यापकता दिएका थिए। ‘जदाै’बाट कार्यक्रम सुरू गर्ने शैलीका कारण उनी स्वयंलार्इ धेरैले ‘जदाै’को उपमा दिएका थिए।

दहालले नेपाली गीत–संगीतका साथै साहित्यिक लेख,साहित्य समीक्षा, समालोचना, अन्तर्वार्ता र रेडियो प्रसारणमार्फत नेपाली साहित्यको विकासमा टेवा पुर्याएका छन्।

Loading...