ओलीसँग गोप्य बार्ता सकेर प्रचण्डले गरे यस्तो ट्वीट, के-के भयो सहमति ?

काठमाडौं, ७ बैसाख ।

बिहिबार कुनै सहमति नै नभएपछि शुक्रबार पुनः प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डबीच गोप्य वार्ता सकिएको छ ।

एकीकृत पार्टीको प्रस्तावनामा जनयुद्ध लेख्ने, चुनाव चिह्न तथा संगठनमा सहभागी संख्याको विषयमा आएर एमाले-माकेबीच एकता रोकिएपछि बिहिबार प्रचण्डले  एकता सम्भव नभए जनतासँग माफी माग्नुपर्ने प्रस्ताव राखेको बताईएको थियो । सोहि बिषयमा समेत आज छलफल भएको माओवादी स्रोतले जनाएको छ ।

यद्धपि यस बिषयमा प्रचण्डले अझै मुख खोलेका छैनन् । गोप्य बार्ता सकिएपछि प्रचण्डले आफ्नो टुइटरमा दुई पार्टीका अध्यक्षबीच सौहार्दपूर्ण वातावरणमा कुराकानी भएको र सो कुराकानीलाई भोलि पनि निरन्तरता दिइने उल्लेख गरेका छन्। दुबै पार्टीका कार्यदलले बुझाएको पार्टी एकता सम्बन्धी प्रतिवेदनमाथि आजको छलफल सकिएको प्रचण्डले बताएका छन् ।

दुवै नेताको भेटपछि प्रचण्डले भने, ‘दुबै पार्टीका कार्यदलले बुझाएको पार्टी एकता सम्बन्धी प्रतिवेदनमाथि आजको छलफल सकिएको छ । दुबै अध्यक्षहरुबीच आज सौहार्दपूर्ण छलफल भयो । छलफललाई भोलि पनि निरन्तरता दिइने छ ।’

यद्धपि आजको छलफलमा पनि कुनै ठोस उपलब्धि भएको छैन । 

एमाले-माओवादीबीच आगामी बैसाख ९ गते हुने भनिएको एकता घोषणा टरेको छ ।  दुई पार्टीबीच चुनाव चिन्ह, जनयुद्ध लगायतका विषयमा विवाद कायमै छ । 

मंगलबार बसेको पार्टी एकता संयोजन समितिको बैठकमा प्रचण्ड ओलीमाथि खनिएका थिए । खासगरी बैठकमा प्रचण्डले राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मातहतमा लगेकोदेखि सचिव सरुवासम्म असन्तुष्टि जनाएका थिए ।

७ फागुनमा दुई पार्टीबीच भएको सातबुँदे सहमतिमा एकीकृत पार्टीको निर्देशक सिद्धान्त ‘माक्र्सवाद-लेनिनवाद’ हुने उल्लेख छ । तर, एमालेले अबलम्बन गरेको जनताको बहुदलीय जनवाद र माओवादी केन्द्रको २१औं सताब्दीको जनवाद लगायतका विषयमा अझै टुंगिएको छैन ।

स्रोतका अनुसार पार्टी एकता गर्दा बैचारिक राजनीतिक विषयहरु महाधिवेशनबाट टुंगो लगाउने भन्ने र महाधिवेशनमा भोटिङ गरेर टुंगो लगाउने त होइन भन्ने माओवादीको आशंका छ । साथै महाधिवेशनबाट नेतृत्व चयन पनि सहमतिकै आधारमा गर्नु पर्ने माओवादीको जोड छ ।
एकता समान हैसियतमा मात्रै हुने माओवादीको अडान छ भने एमालेले त्यो मान्न सकेको छैन ।

यसअघि नै ओली-प्रचण्ड दुबै एकीकृत पार्टीको अध्यक्ष रहने सहमति भैसकेको भए पनि प्रधानमन्त्री ओलीको व्यवहारका कारण प्रचण्ड ससंकित बनेको माओवादी स्रोतले बतायो ।

केन्द्रीय समिति विवादमा ओलीले ‘समान पनि नभनौं, प्रतिशत पनि नभनौं, आवश्यकताका आधारमा गरौं’ भन्दै कुरा टार्दै  छन् । एकीकृत पार्टीको केन्द्रीय समिति २९९ प्रस्ताव गरिएको छ । एमाले नेताहरुले जनमतका आधारमा भन्दै २०० एमाले र ९९ माओवादीबाट गर्ने प्रस्ताव गरेका छन् । तर, माओवादी नेताहरुले भने पार्टी एकता सम्माजनक हुनु पर्ने भन्दै ५०/५० प्रतिशत हुनु पर्ने बताएका छन् ।

गोप्य बार्तामा ओलीलाई तीनछक पार्ने प्रचण्डको प्रस्ताव : एकता हुँदैन, जनतासँग माफी मागौं ?

Loading...