टेलिभिजन पत्रकारहरु संगठित, पत्रकारितालार्इ समाज परिवर्तनको वास्तविक आवाज बनाउन बहस गर्ने

काठमाडाैं, ११ चैत । टेलिभिजन पत्रकारितामा क्रियाशील पत्रकारहरु संगठित भएका छन । श्रमजीवी पत्रकारहरुको हित, क्षमता विकास तथा पत्रकारिता कन्टेन्टमाथि बहस गर्ने उदघोषका साथ टेलिभिजन पत्रकार संगठन, नेपाल गठन गरिएको छ ।

राजधानीमा आज आइतबार भएको भेलाले भौतिक मल्लको अध्यक्षतामा १७ सदस्यीय चयन गरेको छ । भेलाले संघको उपाध्यक्षमा सहदेव थापा, सचिव सर्वजित झा, सहसचिव दिपेन भट्ट, कोषाध्यक्ष रेखा शाहीलार्इ चयन गरेको छ ।

संघले नेपालको पत्रकारिताले उठान गरिरहेका विषयवस्तु, तिनले पारिरहेको प्रभावका बारेमा अब बृहत बहस चलाउने निर्णय पनि गरेको छ । साथै पत्रकारहरुको पेशागत सुरक्षा तथा भौतिक सुरक्षाका साथै उनीहरुका हक, हितका पक्षमा अभियान चलाउने निर्णय पनि संघले गरेको छ ।

प्रथम भेलामा बोल्दै क्रान्तिकारी पत्रकार संगठन, नेपालका केन्द्रीय अध्यक्ष प्रभात चलाउनेले नेपालका मिडियाले पत्रकारिताको वास्तविक सैद्धान्तिक धर्मअनुसार समाज परिवर्तनका पक्षमा अभियान चलाउनुपर्ने बताए । जुन समाजमा राम्रो पत्रकारिताको विकास हुन्छ, त्यो समाजमा जनता सचेत, जागरुक र बलिया हुने बताउँदै जनता बलियो भयो भने मात्र शासकीय मनोमानीलाई रोक्न सकिने बताए । सधै परिवर्तन र आम सर्वसाधारण कमजोर जनताको आवाज बोक्ने मिडियाले यो वास्तविक भूमिका भुलेर विज्ञापनकारिता र बोल्न सक्ने बलियाहरुको मात्र आवाज बनिरहेको अध्यक्ष चलाउनेको भनाइ थियो ।

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय विभागका सचिव विकल्प, क्रान्तिकारी पत्रकार संघका उपाध्यक्ष दिपेन्द्र रावल, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य जन्मदेव जैसी, क्रान्तिकारी पत्रकार संघका केन्द्रीय सदस्य बाबुराम भुषाल, काठमाडौ जिल्ला सचिव सुरज प्याकुरेल लगायतले आआफ्नो शुभकामना मन्तव्य राखेका थिए ।

संघले केही दिन भित्रै कार्यमूलक बैठक गरेर कार्यक्रमहरु सार्वजनिक गर्ने जनाएको छ । साथै नेपालका सबै टेलिभिजन क्षेत्रमा काम गर्ने पत्रकारहरुलाई संगठित गर्ने र संगठनलाई व्यापक रुपमा विस्तार गर्ने निर्णय गरेको छ ।

Loading...