काठमाडौं, २४ फागुन । पुर्नगठित नेकपा माओवादी केन्द्रका संयोजक गोपाल किरातीले नेकपा एमाले र माकेको एकतापछि बन्ने पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी राख्छौं भन्नु मुर्ख र हुस्सपना भएको बताएका छन् ।
किरातीले उक्त नाम यसअघि विप्लव र ऋषि कट्टेलले राखिसकेको र निर्वाचन अायोगमा दर्ता नै भएको तरपनि फेरि उही नाम राख्छौं भन्दै हिड्ने एमाले अध्यक्ष केपी शर्मा ओली र माके अध्यक्ष प्रचण्ड मुर्ख र हुस्सु भएको अारोप लगाएका छन् । एक संचारमाध्यमलाई दिएको अन्तरवार्तको क्रममा संयोजक किरातीले ओली र प्रचण्डले जनतालाई ढाँट्नको लागि पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी राख्न लागेको समेत बताएका छन् ।
“यो त जनतालाई ढाँट्नका लागि मात्रै हो । अहिले जनता कम्युनिष्ट पार्टीप्रति आकर्षित छन् । अर्को नाम राख्यो भने जनतालाई ढाँट्न पाइदैन” किरातीले भने । नेकपा एमाले र माओवादीको एकतालाई दक्षिणपन्थी काण्ड भन्दै आएका नेता किरातीले माओवादी केन्द्र पुर्नगठन गरेका छन् । गणतन्त्र स्थापनासम्म प्रचण्ड क्रान्तिकारी नेता भएको तर अहिले सम्भ्रन्त वर्गमा परिणत भएको बताए ।
संयोजक किरातीले अाफूले सडकबाटै सच्चा सर्वहारावादी संगठन निर्माण गर्ने बताए । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले प्रचारमा आउनको लागि तमासा गर्दै आएको बताउँदै अाफूहरु त्यसो नगर्ने किरातीको भनई छ ।
किरातीले प्रचण्डले माओवादी केन्द्रलाई एमालेलाई बुझाएको भन्दै आफूले त्यसलाई सम्हाल्ने दाबी गरे । “मार्क्सवाद, लेलिनवाद र माओवादको सिद्धान्त, पहिचानको मुद्दा र माओवादी केन्द्र हाम्रो हो । केही दिनमा प्रचण्डको पार्टी अहिलेको माओवादी केन्द्र रहँदैन” किरातीले भने ।
संयोजक किरातीले प्रचण्डले दक्षिणपन्थी काण्डमा हाम फालेर जनयुद्धका सहिदको अपमान गरेको बताए । उनले प्रचण्डले इतिहासमा ठूलो बेइमानी गरेको बताउँदै प्रचण्ड कम्पनी एमालेकरण भएर विलयमा जाने निश्चित भएको दाबी गरे ।