इरान युद्ध अन्त्य गर्ने प्रयासमा ट्रम्पलाई परस्पर विरोधी दबाब

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इरानसँग जारी युद्ध अन्त्य गर्ने बाटो खोजिरहेका बेला उनलाई मध्यपूर्वका प्रमुख साझेदारहरूबाट परस्पर विरोधी सन्देश प्राप्त भइरहेको छ। साउदी अरबले युद्ध मत्थर पार्न आग्रह गरिरहेको छ भने इजरायलले इरानमाथि थप दबाब र सैन्य कारबाहीको पक्षमा जोड दिइरहेको छ।

बुधबार साउदी रक्षामन्त्री खालिद बिन सलमानले वासिङ्टनमा ट्रम्प र उपराष्ट्रपति जेडी भान्ससँग भेटेर साउदी युवराज मोहम्मद बिन सलमानको सन्देश सुनाएका थिए। साउदी अरब युद्ध लम्बिँदा ठुलो जोखिम उत्पन्न हुने भएकाले द्वन्द्व मत्थर पार्न चाहन्छ। तर त्यसको अघिल्लो दिन इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले ट्रम्पसँगको भेटमा इरानसँगको कूटनीति सफल हुनेमा शंका व्यक्त गरेका थिए। दुवैले इरानमाथि दबाब बढाउने र आवश्यक परे पूर्णस्तरीय युद्ध पुनः सुरु गर्ने विकल्पबारे छलफल गरेको इजरायली अधिकारीहरूले बताएका छन्।

यसले ट्रम्पका लागि युद्ध अन्त्य गर्ने रणनीति झन् जटिल बनाएको छ। रिपब्लिकन दलभित्रै युद्ध अन्त्य गर्न दबाब बढिरहेको भए पनि द्वन्द्व उल्टै विस्तार भइरहेको छ। नयाँ मोर्चाहरू खुलिरहेका छन् र मध्यपूर्वका थप मुलुकहरू यसमा तानिँदै गएका छन्। अमेरिकी अधिकारीहरूका अनुसार इरानसँग प्रत्यक्ष कूटनीतिक वार्ता तत्काल पुनः सुरु हुने सम्भावना न्यून छ।

ट्रम्पले इरान सम्झौताका लागि ‘आत्तिएर आग्रह गरिरहेको’ दाबी गरे पनि अमेरिकी अधिकारीहरू इरानका केही शक्तिशाली समूह स्ट्रेट अफ होर्मुजलाई दबाबको माध्यमका रूपमा प्रयोग गर्न र अमेरिकी सेनामाथि क्षेप्यास्त्र प्रहार जारी राख्न अझ प्रतिबद्ध देखिएको बताउँछन्। ट्रम्प स्वयं पनि तेहरान आफ्नो मागअनुसार नझुकेको भन्दै निराश छन्।

यसबिच अमेरिकी सेनाले इरानविरुद्ध थप सैन्य कारबाहीका विकल्प तयार पारेको छ। सेन्ट्रल कमान्डको एउटा योजनामा इरानको क्षेप्यास्त्र क्षमता ध्वस्त पार्न एकदेखि दुई सातासम्म व्यापक बमबारी गर्ने प्रस्ताव रहेको अमेरिकी अधिकारीहरूले बताएका छन्। तर अमेरिकी सेनाका प्रमुख जनरल डान केनले हवाई आक्रमणबाट मात्रै ट्रम्पले युद्धका सबै घोषित उद्देश्य पूरा गर्न नसक्ने चेतावनी दिएका छन्। हवाई प्रतिरक्षा क्षेप्यास्त्रको भण्डार घट्दै गएको र महत्वपूर्ण पूर्वाधारमा आक्रमण गर्दा ठुलो संख्यामा सर्वसाधारणको मृत्यु हुन सक्ने जोखिमबारे पनि ट्रम्पलाई सचेत गराइएको छ।

अहिले क्षेत्रीय कूटनीतिक प्रयासको मुख्य केन्द्र स्ट्रेट अफ होर्मुज पुनः खोल्ने विषय बनेको छ। छोटो अवधिको सम्झौतामार्फत जलमार्ग खुलाउन सके ट्रम्पले युद्धमा उपलब्धि हासिल गरेको दाबी गर्न सक्ने अपेक्षा गरिएको छ। रिपब्लिकन नेताहरू पनि पेट्रोलियमको मूल्य बढ्दा आगामी मध्यावधि निर्वाचनमा पार्टीलाई क्षति पुग्न सक्ने भन्दै होर्मुज पुनः खोल्नुपर्ने पक्षमा छन्।

यता कतार र पाकिस्तानलगायत मध्यस्थकर्ताहरूले कूटनीतिक वार्ता पुनर्जीवित गर्ने प्रयास गरिरहेका छन्। तर इरानभित्रै निर्णय प्रक्रियामा शक्तिशाली इस्लामिक रिभोलुसनरी गार्ड्सको प्रभाव बढेको आशंका छ। गार्ड्सभित्रका वरिष्ठ कमान्डरहरूबिच नेतृत्वका लागि प्रतिस्पर्धा भइरहेकाले युद्ध लामो समयसम्म चल्न सक्ने अमेरिकी तथा क्षेत्रीय अधिकारीहरूको चिन्ता छ।

ट्रम्पका विशेष दूत स्टिभ विट्कफ र उनका ज्वाइँ जारेड कुशनर भने सम्झौता सम्भव रहेको विश्वास व्यक्त गरिरहेका छन्। तर नेतान्याहु कूटनीतिप्रति शंकालु छन्। साउदी अरब भने युद्ध थप विस्तार हुन नदिन दबाब दिइरहेको छ। यसरी ट्रम्प अहिले युद्ध अन्त्य गर्ने कि सैन्य दबाब अझ बढाउने भन्ने कठिन निर्णयको बीचमा छन्।