पेनाल्टी सुटआउटमा जर्मनी स्तब्ध, पाराग्वे अन्तिम १६मा प्रवेश

काठमडौँ । जारी फिफा विश्वकप २०२६ को ‘राउन्ड अफ ३२’ को अत्यन्तै रोमाञ्चक र नाटकीय भिडन्तमा पाराग्वेले बलियो प्रतिद्वन्द्वी जर्मनीलाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दै अन्तिम १६ मा स्थान पक्का गरेको छ ।

निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटको अतिरिक्त समयमा पनि दुवै टोली १–१ को बराबरीमा रोकिएपछि विजेताको फैसला पेनाल्टी सुटआउटबाट गरिएको हो । जारी विश्वकपमै पहिलो पटक भएको पेनाल्टी सुटआउटमा जर्मनी स्तब्ध बन्दै प्रतियोगिताबाट बाहिरिएको छ ।

अमेरिकाको फक्सबरो रंगशालामा नेपाली समय अनुसार मंगलबार बिहान २ः१५ बजे सुरु भएको यस नकआउट खेलको पहिलो हाफमा पाराग्वेले सुरुवाती अग्रता लिएको थियो ।

खेलको ४२ औँ मिनेटमा माटियास गालार्जाको पासमा स्ट्राइकर जुलियो एन्सिसोले उत्कृष्ट गोल गर्दै पाराग्वेलाई १–० को अग्रता दिलाएका थिए । तर, दोस्रो हाफमा उत्कृष्ट लयमा फर्किएको जर्मनीका लागि ५४ औँ मिनेटमा फ्लोरियन विर्ट्जको पासमा काई हाभर्ट्जले गोल फर्काउँदै खेललाई १–१ को बराबरीमा ल्याएका थिए ।

खेल निर्धारित ९० मिनेटमा १–१ को स्थितिमा सकिएपछि जारी विश्वकपमै पहिलो पटक खेल अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयको १०२औँ मिनेटमा नथानियल ब्राउनको पासमा जर्मनीका डिफेन्डर जोनाथन टाहले गोल गर्दै जर्मनीलाई २–१ को अग्रता दिलाए पनि भीएआरको निर्णयले उक्त गोल खारेज गरिदियो । भीएआरले उक्त गोल हुनुअघि फाउल भएको भन्दै गोललाई मान्यता नदिएपछि खेल पुनः १–१ को बराबरीकै स्थितिमा सकियो र पेनाल्टीतर्फ धकेलियो ।

पेनाल्टी सुटआउटमा पनि निकै रोमाञ्चक भिडन्त देखियो । जर्मनीका लागि पहिलो पेनाल्टी प्रहार गर्न आएका काई हाभर्ट्जको प्रहार मिस भयो भने जोसुवा किमिच, जमाल मुसिएला र नादिम अमिरीले गोल गरे । तर, निक वोल्टेमेड र छैटौँ प्रहारका लागि आएका जोनाथन टाहले पेनाल्टी मिस गरेपछि जर्मनी संकटमा पर्‍यो ।

अर्कोतर्फ, पाराग्वेका लागि माउरिसियो, गुस्ताभो गोमेज, माटियास गालार्जा र छैटौँ पेनाल्टी प्रहार गरेका होसे कानाले गोल गरे भने एन्टोनियो सानाब्रिया र फाबियन बाल्बुएनाले गोल गर्न सकेनन् ।

अन्ततः होसे कानालेले प्रहार गरेको निर्णायक पेनाल्टी गोलमा परिणत भएसँगै पाराग्वेले ४–३ को जित दर्ता गर्‍यो । यस जितसँगै पाराग्वे विश्वकपको अन्तिम १६ मा प्रवेश गर्न सफल भएको छ भने जर्मनीको विश्वकप यात्रा अन्तिम ३२ मै टुङ्गिएको छ ।