काठमाडौं । साविक विजेता फिफा विश्वकप २०२६ मा अपराजित बन्दै नकआउट चरणमा प्रवेश गरेको छ । डालास स्टेडियममा आइतबार बिहान भएको समूह चरणको अन्तिम खेलमा जोर्डनलाई ३–१ ले पराजित गर्दै नकआउट चरणमा प्रवेश गरेको हो ।
यसअघि अर्जेन्टिनाले आफ्नो पहिलो खेलमा अल्जेरियालाई ३–० र दोस्रो खेलमा अष्ट्रियालाई २–० ले पराजित गरेको थियो । जोर्डनविरुद्ध कप्तान लियोनल मेसी, जियोभानी लो सेल्सो र लाउटारो मार्टिनेजले एकएक गोल गरे । जोर्डनका मुसा अल–तमारीले सान्त्वना गोल गरे ।
यस्तै अल्जेरिया र अस्ट्रियाबीचको खेल भने रोमाञ्चक बनेर बराबरीमा टुंगिएको छ । दुवै टोलीले अन्तिम समयमा ३–३ गोलको बराबरीमा खेल टुंग्याएका हुन् । यो नतिजा आउन दुवै टोलीले इन्जुरी समयमा १–१ गोल थप्दा खेल निकै रोमाञ्चक बनेको हो ।
खेलमा अस्ट्रियाले २८ औं मिनेटमा अग्रता हासिल गरेको थियो । अस्ट्रियाका मार्को अर्नाटोभिचले गोल गर्दै अग्रता दिलाएका थिए । ४५ औं मिनेटमा अल्जेरियाका रफिक बेलघालीले गोल गर्दै खेललाई बराबरीमा ल्याए ।
त्यसपछि खेलको ५५ औं मिनेटमा अस्ट्रियाका मार्सल सबिट्जरले गोल हानेर टिमलाई २–१को अग्रता दिलाएका थिए । त्यसको ५ मिनेट नबित्दै अल्जेरियाका रिहाद महरेजले बराबरी गोल फर्काउँदै बराबरीमा ल्याएका थिए ।
त्यसपछि निर्धारित ९० मिनेटसम्म थप गोल भएन । इन्जुरी समयको तेस्रो मिनेटमा महरेजले अर्को गोल गर्दै अल्जेरिया जित नजिक पुग्यो । तर, लगत्तै इन्जुरी समयकै छैटौं मिनेटमा अस्ट्रियाका सासा कालाज्डेजिकले गोल फर्काएर खेल ३–३ को बराबरीमा टुंग्याए ।
यो नतिजासँगै समूह ‘जे’बाट दुवै टोली नकआउट चरणमा प्रवेश पाए । एक जित, एक बराबर र एक हार बेहोरेर ४ अंक बटुलेको अस्ट्रिया अंक तालिकामा दोस्रो रहँदै नकआउट पुग्दा समान नतिजासहित ४ अंक बटुलेको अल्जेरिया गोलअन्तरले पछि पर्दै तेस्रो भयो ।
तर, प्रतियोगितामा उत्कृष्ट तेस्रोमा रहँदै उसले पनि नकआउट चरणमा स्थान बनाएको हो ।







