ढिलो गरी सुरु भएको रास्वपाको बन्दसत्रमा महामन्त्रीले प्रस्तुत गरे सांगठनिक प्रतिवेदन

चितवन । सोमबार नै सुरु हुने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बन्दसत्र मंगलबारबाट मात्रै सुरु भएको छ। पार्टी सभापति रवि लामिछाने महाधिवेशन स्थलमा पुगेसँगै बन्दसत्र सुरु भएको हो।

मंगलबार पनि दिउँसो २ बजेदेखि सुरु हुने भनिएको बन्दसत्र साढे १ घन्टा ढिलो गरी साढे ३ बजे मात्रै सुरु हुन सक्यो। महाधिवेशन प्रतिनिधि छनोटमा विवाद उत्पन्न भएपछि निर्धारित समयमा बन्दसत्र सुरु हुन सकेको थिएन ।

प्रतिनिधि छनोटको विवाद समाधान गर्ने सम्पूर्ण जिम्मेवारी सभापति लामिछानेलाई सुम्पिएर नेताहरूले बन्दसत्र अगाडि बढाएका हुन्। बन्दसत्रमा सहभागी हुन प्रधानमन्त्री तथा रास्वपाका वरिष्ठ नेता बालेन शाह पनि आउने क्रममा रहेको पार्टी प्रवक्ता मनिष झाले जानकारी दिएका छन्।

महाधिवेशनमा सांगठनिक प्रतिवेदन पेस भएको छ । महामन्त्री कबिन्द्र बुर्लाकोटीले महाधिवेशनको बन्द सत्र हलमा सांगठनिक प्रतिवेदन पेस गरेका हुन् ।

रास्वपाको महाधिवेशन चितवनमा जारी छ । रास्वपाले आजैबाट नेतृत्व चयनको लागि निर्वाचन प्रक्रिया अघि बढाउने बताएको छ ।