एमाले संसदीय दलको बैठकमा ओलीको ब्रिफिङ जारी, सचिवालय बैठक पनि आजै बस्ने

काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा केहीबेरदेखि बैठक बसिरहेको हो ।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरिरहेका छन् । बैठक स्रोतका अनुसार, अध्यक्ष ओलीले समसामयिक अवस्थाबारे ब्रिफिङ गरिरहेका छन् ।

एमालेका उपाध्यक्ष विष्णु पौडेल हिजोमात्रै सुर्खेतबाट पक्राउ परेका थिए । उनी पक्राउ परेपछि एमालेको संसदीय दलको बैठक बसेको हो ।एमालेले आजै सचिवालय बैठक पनि बोलाएको छ । साँझ ६ बजे ओली निवास गुण्डुमा बैठक बस्न लागेको हो ।

पार्टीको चुनावी समीक्षा र पार्टी पुनर्गठनका लागि सुझाव सङ्कलनका क्रममा उपाध्यक्ष पौडेललाई सोमबार सुर्खेतबाट पक्राउ गरिएको थियो।सम्पत्ति शुद्धीकरण विभागको पत्रको आधारमा पक्राउ परेका पौडेललाई मङ्गलबार बिहान काठमाडौँ ल्याइएको छ ।

पौडेललाई सरकारले राजनीतिक प्रतिशोध साँधेर पक्राउ गरेको एमालेको आरोप छ । पौडेल पक्राउको राजनीतिक रूपमा प्रतिरोध गर्ने एमाले नेताहरूले बताइसकेका छन्।