काठमाडौँ । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा बसोबास गरिरहेका सुकुम्बासी परिवारलाई पाँच दिनभित्र भवन खाली गर्न सूचना जारी गरेको छ।
समितिले सोमबार सूचना टाँस्दै शुक्रबारसम्म स्वः व्यवस्थापनमार्फत होल्डिङ सेन्टर खाली गर्न आग्रह गरेको हो। हाल उक्त सेन्टरमा ६८ परिवारका २०३ जना बसोबास गर्दै आएका छन्।
बागमती सभ्यता एकीकृत विकास समितिका सूचना अधिकारी टोपबहादुर बानियाँका अनुसार प्रत्येक परिवारलाई स्वः व्यवस्थापनका लागि २५ हजार रुपैयाँ उपलब्ध गराएर स्थान खाली गराइनेछ। यसका लागि सम्बन्धित परिवारले बैंक खाता नम्बर सहित निवेदन पेश गर्नुपर्ने व्यवस्था गरिएको छ।
‘खाता नम्बर प्राप्त हुनेबित्तिकै २५ हजार रुपैयाँ उपलब्ध गराउँछौँ। त्यसपछि वास्तविक सुकुम्बासीका रूपमा प्रमाणित हुने परिवारले मासिक १५ हजार रुपैयाँसमेत पाउनेछन्,’ बानियाँले भने।
गत वैशाख १२, १३, १८, १९ र २० गते काठमाडौं उपत्यकाका नदी किनारका विभिन्न जोखिमयुक्त बस्ती हटाइएपछि २ हजार ६०८ जनाले नाम दर्ता गराएका थिए।
चिन्तामा विस्थापित परिवार
होल्डिङ सेन्टरमा आश्रय लिइरहेका विस्थापित परिवारहरूलाई असार १२ भित्र केन्द्र खाली गर्न सूचना जारी भएपछि उनीहरू थप अन्योल र चिन्तामा परेका छन् ।
आश्रयस्थलबाट हटाइएपछि कहाँ जाने भन्ने स्पष्ट व्यवस्था नभएको भन्दै प्रभावितहरूले सरकार र सम्बन्धित निकायप्रति गुनासो गरेका छन् ।
कीर्तिपुरको राधास्वामी सत्संगस्थित होल्डिङ सेन्टरमा बस्दै आएका एक आश्रितले केन्द्रमा सूचना टाँस्दै १२ गतेदेखि सबै होल्डिङ सेन्टर खाली गराउन जानकारी दिइएको बताए । उनका अनुसार केन्द्रबाट हटाइएपछि अन्यत्र सार्ने वा बसोबासको व्यवस्था गर्ने विषयमा कुनै जानकारी दिइएको छैन ।
‘हामीलाई आफ्नो–आफ्नो बाटो लाग्न भनिएको छ । कहाँ जाने, कसरी बस्ने भन्ने कुनै व्यवस्था छैन’ उनले भने । सरकारले घोषणा गरेको भनिएको १५ हजार रुपैयाँ राहत रकम पनि सबै परिवारले नपाएको गुनासो गर्दै उनले केही सीमित व्यक्तिको खातामा रकम जम्मा भए पनि अधिकांश प्रभावित परिवारले हालसम्म कुनै आर्थिक सहायता प्राप्त नगरेको स्पष्ट गरे ।
यहाँ सयौँ मानिस बसिरहेका छन्, तर १०–२० जनाले मात्र रकम पाएको जस्तो सुनिन्छ । मेरो खातामा त केही आएको छैन, उनले भने ।
उनका अनुसार सोमबार बिहानै प्रहरीसहितको टोली आएर प्रभावितहरूलाई अन्यत्र लैजानेबारे छलफल गरेको थियो । तर प्रभावितहरूले पर्याप्त व्यवस्थाबिना केन्द्र नछोड्ने अडान लिएपछि उक्त प्रयास अघि बढ्न सकेन ।
हाल होल्डिङ सेन्टरमा बसिरहेका परिवारलाई दैनिक खाना भने उपलब्ध भइरहेको छ । उनीहरूका अनुसार “शान्ति सेवा” नामक संस्थाले खाना, खाजा, चिया र बिस्कुटको व्यवस्था गर्दै आएको छ ।







