काठमाडौँ । चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनको बन्दसत्र अझै सुरु हुन सकेको छैन । प्रतिनिधि सम्बन्धी विवादका कारणले आज सकिनुपर्ने महाधिवेशन लम्बिएको छ ।
सोमबार (हिजो) बिहान ८:३० बजेदेखि सुरु गर्ने भनिएको बन्दसत्र मंगलबार आज बिहान साढे ८ बजेसम्म पनि प्रतिनिधि परिचयपत्र वितरण कार्य सुरु भएको छैन । आयोगका पदाधिकारी र पार्टीका महामन्त्री, सहमहामन्त्रीलगायत छ्लफलमा जुटेकोले परिचयपत्र वितरण छिट्टै सुरु हुने बताइएको छ ।
राति छपाइ भएका कार्ड प्रदेशमार्फत वितरण गरिने प्रवक्ता मनिष झाले जानकारी दिए । सात प्रदेश र समायोजन एवं प्रवाषका कार्ड फरक फरक ठाउँबाट सहज रुपमा वितरण गरिने पार्टीले जनाएको छ ।
कार्ड वितरणपछि पूर्ववत् तालिकाअनुसार नै बन्दसत्र सञ्चालन गरिने जनाइएको छ । रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार बन्दसत्रको सुरुमा अनुशासन आयोगबाट रमाकान्त रिमालले अनुशासन आयोगको प्रतिवेदन प्रस्तुत गर्नेछन् । त्यसमा छलफल हुनेछ । सो पश्चात कोषाध्यक्ष लिमा अधिकारीको आर्थिक प्रतिवेदन प्रस्तुति र छलफल हुनेछ ।
प्रस्तावक र समर्थक बन्नेहरु उम्मेदवार बन्न नपाउने
रास्वपा महाधिवेशनमा उम्मेदवारी दिने व्यक्तिका प्रस्तावक र समर्थक बन्नेहरु उम्मेदवार बन्न नपाउने भएका छन् । रास्वपा निर्वाचन आयोगले एक सूचना जारी गरेर उम्मेदवारको प्रस्तावक र समर्थक उम्मेदवार हुन नपाउने जनाएको हो ।
निर्वाचन आयोगले पार्टी सभापतिका उम्मेदवारका लागि १ जना प्रस्तावक र ५१ जना समर्थक अनिवार्य गरेको छ । यस्तै अन्य केन्द्रीय सदस्यको हकमा १ जना प्रस्ताव र २१ जना समर्थक चाहिन्छ ।
प्रस्तावक र समर्थकहरुको नाम, सम्पर्क नम्बर र हस्ताक्षर अनिवार्य हुनुपर्ने केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले जारी गरेको सूचनामा उल्लेख छ ।
एक जनाको प्रस्तावक बसेपछि अर्को व्यक्तिको प्रस्तावक बस्न पाइँदैन तर समर्थक बस्न भने रोक लगाइएको छैन । प्रस्तावक र समर्थक हुने व्यक्ति पार्टीको महाविधेशन प्रतिनिधि भएकै हुनुपर्दछ ।
निर्वाचन आयोगको नियम विपरीत उम्मेदवारी मनोनयन फारम दाखिला हुन आएमा उम्मेदवारी फारम स्वत: अमान्य ठहर हुने केन्द्रीय निर्वाचन आयोगले जनाएको छ ।
रास्वपाको केन्द्रीय सभापतिका लागि उम्मेदवारी दिँदा ५१ जना हजार, पदाधिकारीका लागि ४१ हजार र केन्द्रीय सदस्यले २१ हजार रुपैयाँ बुझाउनुपर्दछ ।







