चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनअन्तर्गतको बन्दसत्र निर्धारित समयमा सुरु हुन सकेको छैन।
महाधिवेशन प्रतिनिधिको अन्तिम नामावली बिहान १० बजे सार्वजनिक गरिने कार्यक्रम छ। त्यसपछि दिउँसो १ बजे उम्मेदवारी मनोनयन फारम वितरण गरिनेछ।
उम्मेदवारी मनोनयन पत्र दर्ता गर्ने समय दिउँसो २ बजेदेखि ४ बजेसम्म तोकिएको छ। त्यसपछि राति ८ बजे प्रारम्भिक नामावली प्रकाशन गरिने कार्यतालिका छ।
नामावली प्रकाशनपछि दाबी–विरोध र जाँचबुझका लागि एक घण्टाको समय छुट्याइएको छ। राति ९ बजेदेखि १५ मिनेटसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्ने समय दिइनेछ। राति ११ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरिनेछ।
भोलिपल्ट असार ९ गते बिहान ७ बजेदेखि ८ः३० बजेसम्म मौन अवधि रहनेछ। त्यसपछि बिहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म पहिलो चरणको मतदान हुनेछ। पहिलो चरणमा सभापति र केन्द्रीय सदस्यको निर्वाचन हुने विधानमा व्यवस्था छ।
मतदान सकिएको करिब दुई घण्टापछि प्रारम्भिक मत परिणाम सार्वजनिक गरिनेछ। त्यसपछि दोस्रो चरणमा अन्य पदाधिकारीका लागि मतदान हुने र सोको कार्यतालिका पछि सार्वजनिक गरिने बताइएको छ।







